बेलैमा व्यवस्थापनमा नलागे नेपालले कोरोना महामारीका धेरै लहरहरुको सामना गर्नु पर्ने विज्ञहरुको चेतावनी

काठमाडौं। स्वाथ्य क्षेत्रका जिम्मेवार निकायहरुले आफनो व्यवस्थापकीय क्षमतामा सुधार नगरे नेपालले कोरोनाका धेरै लहरहरुको सामना गर्नपर्ने चेतावनी स्वास्थ्यविद्हरुले दिएका छन् ।

विश्व वातावरण दिवसको अवसरमा स्मार्टवासद्धारा कोरोना नियन्त्रण र एकीकृत प्रयास र सरसफाई क्षेत्रको महत्व विषयमा आयोजित कार्यक्रममा विज्ञहरुले बताएका हुन् ।

कार्यक्रममा स्रोत व्यक्तिको रुपमा बोल्दै नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष डा.मोहनकृष्ण श्रेष्ठले भने, “जनताको स्वास्थ्य सेवा गर्न स्थापना भएका हाम्रा सरकारी र निजी क्षेत्रको यस्तै पारा रहने हो भने हामीकहाँ कोरोनाको धेरै लहर आउने निश्चित छ । हामी त्यसको सामना गर्न तयार हुनुुपर्ने अवस्था विकसित भैरहेको छ ।”

उनले संक्रमण नियन्त्रणको एकीकृत रोकथाम र नियन्त्रणको सम्बन्धमा कार्यपत्र सहितको प्रस्तुतिका क्रममा उनले केही सुधार गरेमा भने यसमा सुधार आउने बताए । उनले भने, “यो संक्रमणलाई फैलाउने जालोलाई एक ठाँउमा तोड्न सकियो भनेपनि हामीले यसको रोकथाम गर्न सक्छौ र हाम्रा नागरिकलाई जोगाउन सक्छौ ।”

उनले खानेपानी, सरसफाई र स्वच्छताको साथै जनस्वास्थ्यलाई एकीकृत रुपमा लैजान सकिए यस्तो अवस्था सिर्जना गर्न सक्ने बताए। उनले कोरोना नियन्त्रणको क्षेत्रमा सरकार, गैरसरकारी क्षेत्र र अन्तराष्ट्रिय संस्थाहरु आआफ्नो ढंगले सक्रिय हुँदा हामी कहा दोस्रो लहरको प्रवेश भएर त्यसले विनाशलीला मच्चाएको उल्लेख गर्दै पहिलो लहरको व्यवस्थापकीय कमजोरीबाट सिकेर सुधार गर्ने पक्षमा नेपाल चुकेको बताए । उनले कोरोनाको संक्रमण समाप्त भएपछिको अवस्थामा पनि यस्तो एकीकृत शैली अपनाउन पर्ने बताए। यस्तो शैलीले प्राथमिक रोकथाममा सघाउदै स्वास्थ्य अवस्थामा सुधार ल्याउदै कोरोनाजस्ता संक्रामक भाइरसहरुको विस्तारबाट विशेष संरक्षण गर्ने बताए ।

उनले संक्रामक रोग नियन्त्रणमा प्राथमिक,द्धितीय र तृतीय रोकथाम रणनीति बनाउनु पर्ने बताए । उनले खोप लगाउने,स्वास्थय शिक्षा र चेता अभिवृद्धि, आदत परिवर्तन र वातावरण सुधारलाई प्राथमिक रणनीतिमा समेट्नु पर्ने, देशमा फैलने रोगहरुको सूचना, निदान,त्यसको प्रकृति र उपचारको तत्परता दोस्रो रणनीति बनाइनुपर्ने र तेस्रोमा यस्ता संक्रमणबाट पीडितहरुको पुनस्थापनाका पक्षहरु समावेश हुनुपर्ने उल्लेख गरे ।

उनले खानेपानी र जनस्वास्थ्यसम्बन्धित संक्रामक रोग नियन्त्रण रोकथामका लागि बहुक्षेत्रका बहुल सरोकारवालाहरुमा यसको रोकथाम, परीक्षण, तयारी र प्रतिकार्यका लागि चेतनाअभिबृद्धि, ज्ञान र क्षमता निर्माण,नीतिगत वहस र रणनीति विकास गर्नुपर्ने आवश्यकता पनि औल्याए।

कार्यक्रममा खानेपानी तथा सरसफाई क्षेत्रमा कार्यरत डा।सुदनराज पन्थीले घरमा एकान्तवासमा बस्ने कोरोना लगायतका संक्रामक रोगका बिरामीले अबलम्बन गर्नुपर्ने आचार,विचार र व्यवहारका बारेमा प्रकाश पारेका थिए ।

महामारीका बेलामा नेपाल जस्तो सीमित स्वास्थ्य पूर्वाधार भएको, पर्याप्त दक्ष स्वास्थ्य जनशक्तिको अभाव खेपिरहेको र स्वास्थोपचारका उपकरण र सही औषधीहरुको पनि अभाव देखा पर्ने मुलुकमा संक्रामक रोगका बिरामीको भीडमा जाँदा सर्ने त्रास,उपयुक्त र स्तरीय सेवा पाउने प्रत्याभूतिको अभाव , उपयुक्त हेरचाहको अभाव हुने जोखिम र अस्पतालमा गम्भीर प्रकृतिका विरामी आएमा पूर्ण निको नभई घर पठाउने प्रवृत्ति देखिएकोले संक्रमणमा परेका वा संक्रमणको लक्षण देखा परेका व्यक्तिहरुले घरमा एकान्तवासमा रहेर यस्ता संक्रामक रोगबाट मुक्ति पाउन प्रयास गर्ने गरेको बताए ।

उनले घरमा एकान्तवासमा रहदा पनि यसबाट जोगित पालना गर्नुपर्ने आचार,विचार र व्यहारका बारेमा नेपाल सरकारले विश्वस्वास्थ्य संगठन लगायत स्वास्थ्य क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय निकायहरुको सहयोग र परार्मशमा मापदण्ड निर्धारण गरी निर्देशिका जारी गरेको बताए ।

संक्रामक रोगका बिरामीसँग उसको रेखदेखमा रहने व्यक्तिले अपनाउनु पर्ने सावधानी, विरामीलाई पर्याप्त अक्सिजन पुग्ने सफा कोठाका सफा विस्तारामा उपलब्ध गराउने देखी , उनीहरुको खानपान, सरसफाईका पक्षहरुलाई पनि त्यसमा समेटिएको उनको दाबी थियो । उनले बिरामी रहेको ठाँउ र उसले प्रयोग गर्ने शौचालयलाई ०.१ प्रतिशत क्लोरिन मिसाएको पानीले पुछ्ने र सफा गरेमा पनि संक्रामक रोगका भाइरसहरु अरुमा सर्न नपाउने बताए ।

उनले विश्व स्वास्थ्य संगठनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले विश्व स्वास्थ्य संगठनको सहयोगमा टेलिमेडिनको अभ्यास गरेको र यसलाई व्यवस्थित गरेर सातै प्रदेशका स्वास्थ्य संस्थामा पुगेको विरामीले सेवा लिन सक्ने र बिरामीले प्रत्यक्ष राय सुझाव लिन सक्ने पनि बताए ।

उनले संक्रामक रोग नियन्त्रणमा यसको स्रोत व्यक्ति र कारणको खोजी महत्वपूर्ण हुने भन्दै यसवर्ष बेलायत र भारतमा कोरोनाको दोस्रो लहर देखा परेपछि त्यसको असर नेपालमा परेको र बिरामीको संख्या ह्वात्तै बढेकोले अघिल्लो पटक जस्तो बिरामीको कन्ट्याक्ट ट्रेसिड।मा गएर संभावित संक्रमितलाई जोगाउने प्रयासमा कमी देखिएको बताए ।

कार्यक्रममा शुभारम्भ मन्तव्य दिँदै प्रदेश सरकार र स्थानीय सरकारहरुले बजेट ल्याउने समय भएकोले सबै सरोकारवालाहरुले कोरोना जस्ता संक्रामक रोगहरुविरुद्ध लडनको लागि आगामी आर्थिक बर्षमा पर्याप्त बजेट राख्न सुझाव दिए। उनले नीति निर्माण, मोबाइल मैत्री एप्सको निर्माण, खानेपानी,जनस्वास्थ्य र सरसफाई सम्बन्धी जनशक्तिको व्यवस्था,खानेपानीको पर्याप्त उपलब्धता र गुणस्तर नियन्त्रणको व्यवस्थामा सबै निकायले ध्यान दिनुपर्ने बताए।

कार्यक्रमका सहजकर्ता तथा स्मार्ट वासका अध्यक्ष ईञ्जिनियर रामदीप साहले खानेपानी,सरसफाई र स्वास्थ्य क्षेत्रको एकीकृत शैली वा समन्वयले कोरोना घातक र संक्रामक रोग मात्र नभएर अन्य सरुवा रोगहरुको नियन्त्रण र रोकथाममा पनि सघाउने बताएका थिए ।

स्मार्टबास सोलुसन्सका निर्देशक गिरिजा दाहालले संञ्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य दिँदै स्मार्ट बासका कार्यकारी निर्देशक इञ्जिनियर हरिप्रसाद शर्माले खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गर्ने सदासयले स्थापना भएको स्मार्टवासले गत बर्ष विश्वभर महामारीा रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका बारेमा स्वास्थ्य तथा सरसफाई विज्ञहरुको गहकिला विचारलाई स्थानीय निकायमार्फत आमजनतामा पुर्याउन निकै सक्रिय भूमिका खेलेको बताउनुभयो । गत बर्ष स्मार्टवासले २३ वटा यस्ता वेभिनार सञ्चालन गरेको थियो ।

स्थानीय तहका प्रतिनिधि र प्राविधिक सहित खानेपानी र सरसफाई क्षेत्रमा कार्यरत ६५ जनाको सहभागिता रहेको थियो । खानेपानी र सरसफाईको क्षेत्रका विश्वमा उपलब्ध,ज्ञान र प्रविधिलाई नेपालमा उपलब्ध गराएर मानवीय जीवन शैलीलाई सुरक्षित र सहज बनाउन सक्रिय संस्थाले यस क्षेत्रका नेपालका आफ्नै मौलिक ज्ञान र प्रविधिको खोजी, संरक्षण,स्तरीकरणकका क्षेत्रका पनि काम गर्दै आइरहेको छ ।

नेपालमा १५ महिना अगाडि देखि कोरोनाको संक्रमण देखिएपछि कोरोना रोकथाममा केन्द्रीय निकायहरुलाई झ्क्झक्याउदै स्थानीय तहलाई जागरुक बनाउन यस क्षेत्रका कार्यरत विज्ञहरुलाई स्रोत व्यक्तिका रुपमा ल्याएर यसले झण्डै दुई दर्जन सामुहिक वहस कार्यक्रम पनि सम्पन्न गरिसकेको छ ।

खानेपानीमा उपयुक्तमात्रामा क्लोरिन राख्ने र हात तथा मुखको सफाईमा ध्यान दिन गत बर्ष यसले आयोजना गरेका वेभिनारका सामूहिक संवाद कार्यक्रमहरु निकै सहयोगी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?