‘हामीलाई अण्डरडग भनेपनि हामी जितकै लागि खेल्नेछौं’-अल्मुताइरी

काठमाडौं।  नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो टोली जोर्डनविरुद्धको खेलको लागि तयारी अवस्थामा रहेको बताएका छन्।

फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को छनोट खेल अन्तर्गत नेपालले सोमवार जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ। सो खेलको ‘प्रि म्याच कन्फरेन्स’मा अल्मुताइरीले नेपाल जितकै लागि खेलमा उत्रने बताएका छन्।

“जोर्डन हामी भन्दा बलियो टोली हो, तर खेल ०-० बाटै शूरु हुन्छ, र हामी जितकै लागि खल्नेछौं”, अल्मुताइरीले बताए। “हाम्रो उद्देश्य एसिया कप हो र त्यसको लागि जोर्डनविरुद्ध जित अपरिहार्य छ”, उनले थपे।

अल्मुताइरीले नेपाली टोलीले जोर्डनविरुद्धको खेलका लागि भरपुर अभ्यास गरिरहेको बताए। “चाइनिज ताइपेइविरुद्धको खेलको लागि जस्तो अभ्यास गरेका थियौं, त्यत्तिकै अभ्यास अहिले पनि गर्दैछौँ”, उनका शब्द थिए।

त्यस्तै जोर्डनका मुख्य प्रशिक्षक भिटल बोरकेलमान्सले आफ्नो टोलीलाई नेपालविरुद्धको खेल महत्वपूर्ण रहेको बताएका छन्। “सबैले हाम्रो लागि खेल सजिलो हुने अपेक्षा गरेका छन् तर यो फुटबल हो, यहाँ जे पनि हुन सक्छ”, भिटलले बताए। उनले अझै थपे, “मैले नेपालको पछिल्ला दुई खेल हेरेको थिएँ, इराक र चाइनिज ताइपेइविरुद्धको खेल हेर्दा लाग्यो, नेपालको खेल्ने प्रविधि र स्तरमा परिवर्तन आएको छ।”

नेपालले जोर्डनविरुद्ध बिहीवार कुवेतको ‘जबर अल-अहमद अन्तराष्ट्रिय रंगशाला’मा नेपाली समय अनुसार बेलुकी ९:४५ बजे प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?