धनगढी-टेकसिँह धामी । कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखड चोकमा नेकपा माओवादी केन्द्रनिकट वाइसियल र अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले एकपछि अर्को राष्ट्रघाती काम गर्दै गएको तथा उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका कारण उनीहरुको पुत्ला दहन गरिएको अखिल क्रान्तिकारीले जनाएको छ । पुत्ला दहन गर्नु अगाडि उनीहरुले सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए । ढुङ्गा, गिटी, बालुवा निकासी गर्ने गरी हचुवाका भरमा कार्यक्रम ल्याएको भन्दै प्रधानमन्त्री ओलीको समेत पुत्ला दहन गरीएको बताइएको छ ।
उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गरेपछि नेपाललाई बहु राष्ट्र र बहु राज्य बनाउने मुक्ति आन्दोलन आवश्यक रहेको अभिव्यक्ति दिएका थिए । यसको चौतर्फी विरोध भइरहेको छ । त्यस्तै सरकारले बजेट वक्तव्यमै चुरे क्षेत्रको ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने उल्लेख गरेपछि त्यसको पनि विरोध भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया