एमाले सुदूरपश्चिमको प्रमुख सचेतकबाट हटाइए खड्का, दुर्गा बिकलाई जिम्मेवारी

लोकपथ
84
Shares

टेकसिंह धामी, धनगढी । नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिमको प्रमुख सचेतकबाट लालबहादुर खड्कालाई हटाइएको छ । खड्कालाई हटाउदै एमाले संसदीय दलले प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी बिकलाई दिएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका संसदीयदलका नेता प्रकाशबहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सम्पूर्ण सेवा सुविधा पाउने गरी बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी सचिवालयमा प्राप्त भएको बताए ।

यसअघि एमाले संसदीयदलले तत्कालीन प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएर लालबहादुर खड्कालाई नियुक्त गरिएको थियो । तर उनी सामाजिक विकासमन्त्री बनेपछि पार्टीकी सचेतकसमेत रहेकी बिकलाई प्रमुख सचेतकको काम कारबाही हेर्ने गरी जिम्मेवारी दिइएको एमाले संसदीय दलले जनाएको छ ।

तामाङलाई कार्य व्यवस्था परामर्श समितिबाट पनि हटाइयो

एमाले संसदीयदलले प्रदेशसभा सदस्य तारा लामा तामाङलाई प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिको सदस्यबाट समेत हटाएको छ ।

हालै पार्टीको तत्कालीन प्रमुख सचेतकबाट जिम्मेवारीमुक्त गरिएका तामाङलाई कार्य व्यवस्था परामर्श समितिको सदस्यबाट हटाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका सचिव धामीले तामाङको ठाउँमा अहिले प्रमुख सचेतकको जिम्मेवारी दिइएकी बिकलाई सदस्य बनाइएको जानकारी प्राप्त भएको जनाए ।

उनका अनुसार कार्य व्यवस्था परामर्श समितिबाट अर्चना गहतराजलाई पनि हटाइएको छ । गहतराज राज्यमन्त्रीमा नियुक्त भएका कारण उनको ठाउँमा प्रदेशसभा सदस्य अमरबहादुर साउदलाई ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?