पर्यटकीयस्थलको विकासको माग

इलाम, ६ चैत- इलामको प्रमुख पर्यटकीयस्थल सन्दकपुरको पर्यटन विकासका लागि स्थानीयवासीले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग माग राख्दै सोमबार ज्ञापनपत्र पेश गरेका छन् ।सन्दकपुर गाउँपालिका–२ मा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा वार्षिक एक लाख पर्यटक आउने गरे पनि पूर्वाधार नहुँदा पर्यटकीय क्षेत्रको विकास नहुने भन्दै स्थानीयवासीले खनाललाई ज्ञापनपत्र बुझाएका हुन् ।खनाललाई सन्दकपुर गाउँपालिकाका जनप्रतिनिधिले सन्दकपुर पर्यटकीय क्षेत्रमा बाह्रै महिना गाडी गुड्ने सडक, खानेपानी, विद्युत् र सीमा सुरक्षा बलको कार्यालय स्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको गाउँपालिका अध्यक्ष उदय राईले बताए ।नेपाल–भारतको सीमा क्षेत्रमा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा लोपोन्मुख वन्यजन्तु, जडीबुटी र हिमशृङ्खलाको दृश्यावलोकनका लागि सयौँ पर्यटक आउजाउ गर्दै आएका छन् ।ज्ञापनपत्र बुझ्दै पूर्वप्रम खनालले पर्यटकीय क्षेत्रको विकासका लागि आफूले स्थानीय तहदेखि केन्द्रीय तहसम्म पहल गर्ने प्रतिबद्धतासमेत जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?