काठमाडौं। जारी फ्रेन्च ओपन प्रतियोगितामा पुरुषतर्फ रफाएल नाडाल र नोभाक जोकोभिच क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।
सोमवार खेलिएका अन्तिम १६ को खेलमा टेनिस जगतका दुई जना सुपरस्टार खेलाडीले नै आ-आफ्नो खेलमा जित हासिल गरेका हुन्।
विश्व नम्बर १ सर्बियन खेलाडी नोभाक जोकोभिचले इटालीका लोरेन्जो मुसेट्टीलाई ६-७ (७/९), ६-७ (२/७), ६-१ ६-० र ४-० को सेटमा पराजित गरेका हुन्। फिलिप च्याटरियर कोर्टमा खेलिएको खेलमा जोकोभिचले पहिलो दुई सेटमा हार भोगे पनि त्यसपछिका दुई सेटमा सहज जित प्राप्त गरेका थिए। खेलको अन्तिम सेटमा जोकोभिचले ४-० को अग्रता बनाउँदा मुसेट्टीले ‘वाकओभर’ दिएपछि खेल जोकोभिचले जितेका हुन्।
सोमवार राति नै भएको अर्को खेलमा सर्वाधिक फ्रेन्च ओपन विजेता रफाएल नाडालले इटालीकै यानिक सिनरलाई पराजित गरेका छन्। नाडालले सिनरमाथि ७-५, ६-३ र ६-० को जित निकाले। कोर्ट फिलिप च्याटरियरमै भएको खेलमा नाडालले कुल ९९ अंक जितेका थिए। त्यस्तै एक बेगल प्राप्त गरेका नाडालले ४ एस पनि हासिल गरे।
क्वार्टर फाइनलको खेलमा अब जोकोभिचले विश्व नम्बर ७ इटालीका म्याटियो बेरेटिनीको सामना गर्ने छन् भने नाडालले विश्व नम्बर १० का डिएगो स्वार्ट्ज़म्यानसँग प्रतिस्पर्धा गर्ने छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया