धनगढी-टेकसिँह धामी । सुदूरपश्चिम एमाले संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलवार बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विश्वकर्माले जानकारी दिइन् ।
संसदीय दलको बहुमत पक्षले भट्टलाई विश्वासको मत दिने निर्णय गरेको हो । आजै बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदैछन् ।
माधव नेपाल पक्षको बहुमत रहेको सुदूरपश्चिम एमाले संसदीय दलले पार्टी केन्द्रीय कमिटीको निर्णयलाई बेवास्ता गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । एमालेका सांसदको समर्थन पाउने भएपछि मुख्यमन्त्री भट्टको पद सुरक्षित हुने देखिएको छ ।
ओली पक्ष असहमत :
एमाले ओली पक्षका ७ सांसदले भने प्रदेशसभा बैठकमा उपस्थित नहुने र मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताएका छ्न । पार्टी निर्णयविपरित माधव नेपाल पक्षले वहुमतका आधारमा निर्णय गरेको भन्दै ओली पक्षका ७ सांसदले असहमति जनाएका हुन् ।
एमालेका २४ जनामध्ये लिलाधर भट्ट, रतन थापा, पठानसिंह बोहोरा, गेल्वुसिंह बोहोरा, माया तामाङ बोहोरा र वलदेव रेग्मी र नेपालु चौधरीले निर्णयमा हस्ताक्षर गर्न अश्वीकार गरेका छन् ।
माधव पक्षले बहुमतका आधारमा निर्णय गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेपछि अब एमाले संसदीय दल विभाजित भएको छ । ५२ सदस्यीय प्रदेश सभामा माओवादीका १३ र कांग्रेसका १२ सांसद छन् भने जसपाका २ जना सांसद छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया