वरिष्ठ कलाकार तथा संस्कृतिविज्ञ एकाराम सिंको निधन

काठमाडौँ- वरिष्ठ चित्र कलाकार तथा संस्कृतिविज्ञ एकाराम सिंको निधन भएको छ । कोरोना संक्रमण भएपछि गत वैशाख ३१ गतेदेखि कपनस्थित करूणा अस्पतालमा उपचाररत ५३ वर्षीय सिंको सोमवार निधन भएको हो ।

इतिहास संस्कृतिमा विशेष अध्ययन र अनुसन्धानमा क्रियाशील उनी बाल साहित्यमा सक्रिय थिए । सयौँ किताबको कभर डिजाइन गरेका  उनले पछिल्लो समय काठमाण्डौ महानगरपालिकाबाट लागू गरेको नेपालभाषाको पाठ्यक्रम ‘येँ देय् म्हसीका’ १ कक्षादेखि ८ कक्षासम्मको पाठ्यपुस्तकका लागि चित्र कोरेका थिए ।

२०२५ सालमा जन्मिएका एकाराम सिंले सांस्कृतिक लेखन समेत गर्दै आएका थिए । उनले लिच्छविकालीन, मल्लकालीन, राणाकालदेखि शाह राजासम्मको चित्रका साथै विभिन्न देवीदेवताका चित्रहरू कोरेका छन् ।

बालवाङ्मय तथा अनुसन्धान केन्द्रले शोक विज्ञप्ति मार्फत ‘सिंको असामयिक र दुःखद् निधनबाट नेपाली कला, संस्कृति र बालसाहित्य तीनै क्षेत्रमा ठूलो क्षति पुगेको’ जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?