काठमाडौं। फिफा विश्वकप २०२२ को छनौट खेल अन्तर्गत अर्जेन्टिनाले कोलम्बियासँग २-२ गोलको बराबरी खेल खेलेको छ।
दक्षिण अमेरिकी छनौट खेल अन्तर्गत बुधवार बिहान कोलम्बियाको घरेलु मैदानमा खेलिएको खेलमा अर्जेन्टिनाले शुरुवाती १० मिनेटमै दुई गोलको अग्रता लिन सफल भएको थियो। खेलको तेस्रो मिनेटमा डिफेन्डर क्रिस्टियन रोमेरोको हेडर गोल मार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो।
त्यसको पाँच मिनेट पनि नबित्दै लियान्ड्रो पारेडेसले अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। पीएसजीका मिडफिल्डर पारेडेसले निकोलस गोल्जालेजको पासमा अर्जेन्टिनाको लागि दोस्रो गोल गर्न सफल भएका थिए। पहिलो हाफको खेल सकिँदा अर्जेन्टिनाले खेलमा पकड राम्रो बनाएको थियो।
यद्यपि घरेलु टोली कोलम्बियाले दोस्रो हाफको ५१औं मिनेटमा गोल फर्कायो। एटलान्टाका स्ट्राइकर लुविस मुरीयेलले पेनाल्टी गोल मार्फत कोलम्बियालाई खेलमा फर्काए। त्यसपछि खेलको अतिरिक्त समयको चौथौं मिनेटमा कोलम्बियाले हार टार्यो। दोस्रो हाफमा प्रतिस्थापन भएर मैदान प्रवेश गरेका मिगेल बोर्जाले ९४औं मिनेटमा बुलेट हेडर गोल मार्फत कोलम्बियालाई २-२ को बराबरीमा पुर्याए।
यसरी दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना पुनः जितविहिन भएको हो। कोनमेबोल विश्वकप छनौट अन्तर्गत अर्जेन्टिना अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। ६ खेलमा ३ जित र ३ बराबरी खेलेको अर्जेन्टिनाको १२ अंक रहेको छ। त्यस्तै कोलम्बिया भने अंक तालिकाको ५औं स्थानमा रहेको छ। ६ खेलमा समान २ जित, २ बराबरी र २ हार बेहोरेको कोलम्बियाको ८ अंक रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया