काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलावजङ्ग शाहले सरकारमा सहभागी मन्त्रीलाई हट्न निर्देशन दिने बताएका छन् । फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएका एमालेका चार सदस्यलाई तत्काल राजीनामा दिएर सरकार छाड्न निर्देशन दिइने शाहले बताए । दलको बैठक बसेर तत्काल सरकारबाट बाहिरिन निर्देशन दिइने उनले जानकारी दिए ।
अदालतको फैसलाअनुसार चारै जना एमालेको प्रदेशसभा सदस्य भएकाले अब दलको ह्विप मान्नुपर्ने शाहको भनाइ छ । एउटा दलको चुनाव चिह्नबाट चुनाव जितेर आएपछि म त्यो दलको होइन म नीतिनियम मान्दैन भन्न नपाउने भएकाले पार्टी र संसदीयदलको विधानअनुसार चल्नुपर्ने उनको तर्क छ । दल बदलको कानूनअनुसार कारवाही गरिएको उल्लेख गर्दै उनले भने, “कि सरकार छाडेर दल मातहत आउनु पर्यो नत्र कारवाहीको भागेदार हुनुपर्यो ।”
अदालतको फैसलाले नयाँ बहस शुरु :
फ्लोर क्रस गरेपछि कारवाहीमा परेका एमालेका सदस्यलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएपछि नयाँ बहस शुरु भएको छ । एमालेले कारवाही गरेपछि पदमुक्त भएका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वोच्चले प्रदेशसभा सदस्य पदमा पुनर्बहाली गरिदिएपछि कर्णाली सरकारका बारेमा बहस शुरु भएको हो ।
मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई प्रदेशसभामा विश्वासको मतका लागि फ्लोर क्रस गरेर जोगाइदिएका चार सदस्यले अब के गर्छन् भन्ने चासो उब्जिएको छ ।
यस्तो छ कर्णालीको अङ्कगणित :
सर्वोच्च अदालतको आदेशपछि प्रदेशसभा ३९ सदस्यीय बनेको छ । अदालतको आदेशपछि हाल कर्णाली प्रदेशसभामा एमालेको एकल बहुमत भएको छ । सभामुख राजबहादुर शाहीसहित एमालेका २०, नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेसका छ र राप्रपाका एक सदस्य छन् । प्रदेशसभामा बहुमत लिन २० सदस्य भए पुग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया