काठमाडौं। फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र एसियाली ‘पावर हाउस’ अस्ट्रेलिया बिचको खेल ‘किकअफ’ भएको छ।
कुवेतको ‘जबर अल अहमद अन्तराष्ट्रिय रंगशाला’मा नेपाल र ५ पटक विश्वकप फुटबल खेलिसकेको अस्ट्रेलिया बिचको खेल अहिले बेलुकी ९:४५ बजे शुरु भएको हो। सो खेलको लागि नेपालको शुरुवाती ११ मा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ५ परिवर्तन गरेका छन्।
अभिषेक रिजाल, अन्जन विष्ट, सन्तोष तामाङ, दिनेश राजवंशी र विकास खवासको स्थानमा नवयुग श्रेष्ठ, सुनिल बल, विशाल राई, एरिक विष्ट र गौतम श्रेष्ठले अस्ट्रेलियाविरुद्धको खेलमा शुरुवात गरेका छन्।
फिफा विश्वकप २०२२ को ढोका औपचारिक रूपमा बन्द भइसकेको हुँदा नेपालको ध्यान एसियन कप ‘प्लेअफ’मा रहेको छ। बलियो टोली अस्ट्रेलियाविरुद्ध नेपाल आफ्नो साविक ४-३-३ फर्मेशनमा फर्किएको छ।
जोर्डनविरुद्ध पहिलो ३० मिनेट ३ ब्याकको फर्मेशन अपनाएको नेपाली टोली अस्ट्रेलियाविरुद्ध कुनै पनि परीक्षण गर्ने सुरमा देखिएको छैन। बरु अस्ट्रेलियाविरुद्धको दोस्रो हाफमा नेपाली युवा खेलाडी आयुष घलान, सुरज जिउ ठकुरी र कमल थापाले ‘डेब्यू’ गर्ने सम्भावना बलियो छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया