काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दरमा कमि आएको छ । कोरोना परीक्षणको दायरा साँघुरो हुँदै गएसँगै नेपालमा कोरोना संक्रमितको संख्यामा पनि कमी आएको हो ।
तैपनि नेपालमा हाल काठमाडौंसहित विभिन्न १० जिल्लामा कोरोना संक्रमितको संख्या धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार हाल नेपालका विभिन्न ४४ जिल्लाहरुमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
यी हुन् ५०० सय भन्दा बढी सक्रिय संक्रमित रहेका १० जिल्ला
काठमाडौं
ललितपुर
रुपन्देही
मोरङ
भक्तपुर
कैलाली
धनुषा
दाङ
सिन्धुपाल्चोक
झापा
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको कुल १२ हजार ४ सय ७ जनाको परीक्षण गर्दा सो परिमाणमा संक्रमण पुष्टि भएको हो । जसमध्ये ७ हजार ५ सय १४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि भएको र ४ हजार ८ सय ८९ एन्टीजेन परीक्षण गर्दा ७ सय १३ जनामा कोराना पुष्टि भएको हो ।
त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा देशभरबाट थप ३ हजार ९ सय ९४ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार देशभर कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ८ हजार ४ सय १२ पुगेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या उल्लेख्य रहेकाले सक्रिय संक्रमित घटिरहेको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६८ हजार ९ सय ५५ रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४ सय ४८, भक्तपुरमा ५८ र ललितपुरमा ११२ जनामा कोरोना पुष्टि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया