काठमाडौं। इङ्ल्यान्ड भ्रमणमा रहेको न्युजिल्यान्डले घरेलु टोलीलाई पराजित गर्दै दुई टेस्टको शृंखलामा १-० को जित दर्ता गरेको छ।
‘इजबास्टन’मा सम्पन्न दोस्रो टेस्ट खेलमा टस जितेर इङ्गल्याण्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। ३०३ रनको शानदार योगफल तयार पार्दा इङ्ल्यान्डका लागि ओपनर ‘रोरी बर्न्स’ र ‘ड्यान लरेन्स’ले समान ८१ रनको पारी खेले। न्युजिल्यान्डका लागि तिब्र गतिका बलर ‘ट्रेन्ट बोल्ट’ले पहिलो इनिङमा ४ विकेट लिए।
जवाफी ब्याटिङमा आएको न्युजिल्यान्डले ३८८ रनको विशाल योगफल तयार पार्यो। पाहुना टोलीका लागि ‘विल यङ’ले सर्वाधिक ८२ रनको पारी खेल्दा ‘डेभन कनवे’ र ‘रस टेलर’ले समान ८० रन जोडे।
दोस्रो इनिङमा ८५ रनले पछि परेको इङ्ल्यान्ड १२२ रनमै समेटियो। न्युजिल्यान्डका ‘म्याट हेनरी’ र ‘निल वाग्नर’ले समान ३-३ विकेट लिए। दोस्रो इनिङमा ३८ रनको सामान्य लक्ष्य लिएर मैदान प्रवेश गरेको न्युजिल्यान्डले मात्र २ विकेट गुमाएर खेलमा जित प्राप्त गर्यो।
न्यूजील्याण्डका ‘म्याट हेनरी’ खेलमा ‘म्यान अफ दि म्याच’ घोषित हुँदा ‘डेभन कनवे’ र ‘रोरी बर्न्स’ दुवै जना ‘प्लेयर अफ दि सिरिज’ चुनिए। न्युजिल्यान्डले दोस्रो खेल जित्दा पहिलो खेल बराबरीमा सकिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया