कोपा अमेरिका २०२१ : मेस्सीको शानदार फ्रि-किक गोल बावजुद अर्जेन्टिना बराबरीमा रोकियो

काठमाडौं। जारी कोपा अमेरिका २०२१ अन्तर्गत गए राति भएको दक्षिणी समूहको खेलमा अर्जेन्टिना र चिलेले १-१ गोलको बराबरी खेल खेलेका छन्।

पहिलो हाफको ३३औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले शानदार गोल गरे। उनले फ्रि-किक मार्फत शानदार गोल गर्दा चिलेका गोलरक्षक ब्राभो स्तब्ध देखिए।

पहिलो हाफ आफ्नो पक्षमा पारेको अर्जेन्टिनाले दोस्रो हाफमा अग्रता गुमायो। खेलको ५६औं मिनेटमा चिलेले पेनाल्टी प्राप्त गर्यो।

चिलेका स्टार खेलाडी अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलरक्षक एमी मार्टीनेजले उत्कृष्ट बचाउ गरे। तर रिबाउण्डमा चिलेका अर्का खेलाडी एडुवार्डो भार्गासले सो बललाई जाली चुमाउन सफल भए।

खेलमा दुवै टोलीले लगभग ५०/५० प्रतिशत बल पोसेसन बनाउन सफल भएका थिए। ब्राजिलको ‘रियो डे जेनेइरो’मा सम्पन्न सो खेलमा अरु गोल हुन नसक्दा खेल १-१ को बराबरीमा सकिएको हो।

त्यस्तै दक्षिणी समूह अन्तर्गत आज बिहान सम्पन्न दोस्रो खेलमा प्यारगुवेले बोलिभियालाई ३-१ गोलले पराजित गरेको छ। ब्राजिलको ‘गोलानिया’मा भएको खेलमा १-० गोलले पछि परेको प्यारागुवेले दोस्रो हाफमा ३ गोल फर्काउन सफल हुँदा महत्वपूर्ण ३ अंक बटुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?