दिवस खनिया-काठमाडौं । नेपालीहरु माझ पछिल्लो समय निकै लोकप्रिय रहेको एप हो ‘क्लब हाउस’। यो प्लेटफर्म २०२० को अप्रिलमा पहिलो पटक प्रयोगमा आएको थियो। यो एप सार्वजनिक भएलगत्तै कोरोना महामारी पनि बढ्दै गयो । तर महामारीबीच नै एपले अझ बढी लोकप्रियता कमायो। क्लब हाउस २०२० मा नै अमेरिकामा ट्रेन्डिङ नम्बर ५ सम्म परेको सोसियल मिडिया नेटवर्क बनेको थियो ।
अन्य सामाजिक सञ्जालभन्दा फरक खालको यो प्लेटफर्ममा अहिले ६० लाखभन्दा बढी प्रयोगकर्ता पुगिसकेका छन। यहाँ छिरिसकेपछी हरेक विषयका छुट्टाछुट्टै अनलाइन मिटिङका भ्वाइसहरु सुन्न सकिन्छ। आफूलाई उपयुक्त लागेका कुराबारे मज्जाले सुनेर र सहभागी भएर आनन्द एवं ज्ञान लिन सकिन्छ।
मेरो ‘क्लब हाउस’ अनुभव :
नेपालमा मे अन्तिम हप्ताबाट यसको लोकप्रियता ह्वात्तै बढ्यो। यो एपले नेपालीहरु माझ आफ्नो प्रभाव राम्रै सँग जमायो। ‘जुन’ महिनाको पहिलो हप्ता पुग्दासम्म अन्य सामाजिक सञ्जालमा समेत यही एप बारे कुराहरु हुन थाले। ‘जुन’ पहिलो हप्ता सम्म त्यती धेरै उत्सुक नरहेको म त्यस लगत्तै यसको चर्चा परिचर्चा सुनेर मोबाइल इन्स्टल नगरि बस्नै सकिन। जब यो एप मेरो मोबाइलमा उपलब्ध भयो त्यस पछी यो भित्रका हरेक क्लबहरुको यात्रामा म निस्किएको छु । विभिन्न किसिमका ग्रुप बनाई यहाँ आफ्ना रुचि अनुसारको विषयका बहस भइरहेका हुन्छन्। यो एप सम्पूर्ण उमेर समूहका व्यक्तिले प्रयोग गरेको पाइन्छ।
मलाई शुरुमा नै हरेक समुहमा प्रवेश गरेर हरेक अनुभव लिन मन लाग्यो। मेरो चासोको विषय सामाजिक, राजनीतिक तथा अन्य विषयगत कुराहरु रह्ये पनि मैले यो क्लबको हरेक समुहमा छिरेर त्यस्को अनुभव लिएको छु। नेपालमा अहिले विशेषतः निषेधाज्ञाको समयमा मानिसहरू एक-आपसमा जम्मा भई ग्रुप बनाइरहेका छन। यस भित्र विज्ञदेखि सामान्य स्तरका व्यक्तिहरू जोडिएको पाइन्छ, जस्तो समुह खोज्यो त्यस्तै भेटिन्छ, र जस्तो कुराकानी गर्न मन पर्छ त्यस्तै समुहमा आफु सामेल हुन सकिन्छ।
विभिन्न किसिमका दैनिक एपिसोडहरू पनि यसै भित्र चलिरहेका छन, खेलकुद बारे बहसहरु पनि भइरहेका छन, राजनीतिक बहस पनि भएका छन, पत्रकारहरु पनि त्यतिकै मात्रामा देख्न सकिन्छ। कोही मानिस यहाँ अन्ताक्षरी खेलेर समय बिताउँछन् भने कोही व्यक्ति यहाँ पढाइको जमात बनाई परीक्षाको तयारी गर्छन्। कोही टिनएजरहरु किशोर र किशोरि जम्मा गरेर किल, म्यारी, डेट जस्ता गेमहरु खेलिरहेको भेटिन्छ। यहाँ लेनिनवाददेखि मार्क्सवाद सम्मको बहस चलिरहेको पनि भेटिन्छ। भाषा साहित्य, गीत संगीतदेखि प्रेमसम्मका हरेक कुरा क्लब हाउसमा भइरहेका छन।
यस प्लेटफर्ममा कोही मान्छेलाई कुनै पनि कुरामा रुचि छ भने त्यस ग्रुपमा सिधै जोडीन मिल्छ। कोही पनि व्यक्तिलाई कुनै पनि ग्रुपमा जोडिन कसैको अनुमति चाहिँदैन। तर, आफ्नो भनाइ व्यक्त गर्न भने ग्रुपको मोडरेटर अथवा सञ्चालकको अनुमतिको आवश्यकता पर्छ। हामी कुनै पनि ग्रुपमा छिरिसके पछी सबैभन्दा माथिको सेक्सनमा मोडरेटर अथवा सञ्चालक र वक्ताहरू हुन्छन्। त्योभन्दा तल मोडरेटर अथवा वक्ताले फलो गरेका व्यक्ति हुन्छन् भने सबैभन्दा तल्लो तहमा लिसनर अथवा सुन्ने श्रोता हुन्छन्।
अन्य लगभग सबै सामाजिक सञ्जालका भन्दा फरक सोचले बनेको भएर क्लब हाउस साँच्चै नै निकै रुचिकर बनेको छ। हरेक विषयमा आफ्नो इच्छा अनुसार सुन्न र बोल्न मिल्ने भएर अहिले यस प्रतीको आकर्षण बढेको हो। सजिलो भाषामा बुझाउनु पर्दा क्लब हाउसलाई काठमाडौंमा चल्ने रात्रीकालिन क्लबहरुसँग तुलना गरेर समेत बुझाउन सकिन्छ।
काठमाडौंमा हरेक स्तरका हरेक भिन्न भिन्न समुहका मनिसहरु उपस्थित हुने रात्रीकालिन क्लबहरु रहेका छन। मनिसहरु आफ्नो इच्छा अनुसार उक्त क्लबहरुमा जाने गर्दछन। दरवामार्गमा एउटा जमात , ठमेल सम्म पुग्दा एउटा जमात, झम्सिखेल तिर अर्कै जमात रहने गर्दछन। क्लब हाउस पनि त्यस्तै नै हो। आफुलाई कस्तो समुह मन पर्ने हो, कस्ता विषयबस्तु मन पर्ने हो, त्यही अनुरुप त्यहाँका समुहमा हामी प्रवेश गर्न सक्छौं। किशोर, किशोरिहरुका विभिन्न गफ गाफ देखी विषयगत छलफल र दैनिक एपिसोडहरु यही भित्र छन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया