टेकसिँह धामी, धनगढी । मनसुन सुरु भएपछि लगातारको वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानकोे समस्या देखिएको छ । मनसुन सुरु भएसँगै विभिन्न जिल्लामा बाढी, पहिरो र डुबान सुरु भइसकेको छ । सुदूरपश्चिम प्रदेश पनि बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको छ ।
सुदूर पहाडका डोटी, बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, बझाङ र दार्चुला जिल्लाका धेरै वस्तीहरु पहिरोको उच्च जोखिममा रहेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सुदूरपश्चिममा आइतबारदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण चार जनाको मृत्यु भएको छ । यसैगरी खोलाले बगाएर एक जना बेपत्ता भएका छन् भने पहिरोमा च्यापिएर दुईजना घाइते भएका छन् ।
डोटीमा बिहिवार पहिरोमा च्यापिएर दुई बालबालिकाको मृत्यु भयो । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ चिसापानी नजिकै ब्राखा चराउन गएको बेला ओडारमा बसेका दुई बालबालिकाको माथिबाट आएको पहिरोले च्यापिएर मृत्यु भएको हो । मृत्यु हुनेमा ७ वर्षीय बालक बिनोद भण्डारी र मामाघरमा गएकी वडा नं. ७ राँतुलीकी ऐश्वर्या बिष्टकी ११ वर्षीया छोरी जेनिषा विष्ट रहेका छन् ।
प्रहरीका अनुसार बाजुराको बूढीनन्दा नगरपालिका–३ सिराडीको लौठीरूखकी ३६ वर्षीया मोतीकला लुहारको पनि खोलाले बगाएर मृत्यु भएको छ । त्रिवेणी नगरपालिका–५ किम्नीका १३ वर्षीय कमल बुढा बेपत्ता छन् । डोटीकै केआईसिंह गाउँपालिका–३ वासुदेवी देउकाँडाका ६५ वर्षीय खड्कबहादुर बमको पनि पहिरोमा च्यापिएर मृत्यु भएको छ । पहिरोमा च्यापिएर वासुदेवीको झिगावस्तीका १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पूजा कुँवर घाइते भएका छन् । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा आइतबारदेखि निरन्तर वर्षा भईरहेको छ ।
सधैं त्रासमय वर्षायाम
सुदूर पहाडको अछामको साफेँबगर बुढीगंगा नदी तटीय क्षेत्रका बासिन्दा वर्षायाम सुरु भएसँगै बाढीबाट त्रसित हुन्छन् । साफेँमा हरेक वर्ष वर्षायाम सुरु भएसँगै बुढीगंगा नदीले बस्ती डुबानमा पार्नुका साथै खेतीयोग्य जमिन कटान गर्दै आएको छ । गत वर्ष नदीले ठूलो मात्रामा साँफेबगर आसपासका खेत कटान गरेको थियो । तटबन्धनको उचित व्यवस्था नहुँदा यहाँका बासिन्दाले बर्सेनि बाढीको त्रास खेप्नु परेको छ ।
स्थानीय दिपक खड्का तटबन्धन बारे भन्छन्, ‘तटबन्धनका लागि बजेट नआएको पनि होइन । तर बजेटको सदुपयोग कसरी हुन्छ र कहाँ तटबन्धन हालिन्छ भन्ने नै जानकारी छैन ।’
वर्षा सुरु भएपछि आफूहरूको निन्द्रा नै हराउने गरेको उनले बताए । ‘रातभरि जागाराम बस्नुपर्छ, नदी बढेर घर छेउसम्म पुग्न थालिसक्यो’, उनले भने, ‘साना साना बालबालिका छन्, वर्षायाममा बाँच्नै मुस्किल छ ।’
गत वर्ष आएको बाढीले साँफेबगर नगरपालिका–४ मा रहेका सबै खेत नदीले कटान गरेको थियो । जसले गर्दा एयरपोर्ट र पुरै नगरपालिका नै जोखिममा परेको छ । पूर्वबाट छिपेखोला, उत्तरबाट बुढीगंगा र दक्षिणबाट बग्ने प्रभाली खोलाका कारण साँफेबगर उच्च जोखिममा छ ।
२०४० सालदेखि नै खेतीयोग्य जमिन कटानको मारमा आफूहरू पर्दै आएको स्थानीय चक्र कुँवरले बताए । प्रदेश सरकार र सिचाँइ डिभिजन कार्यालयको ४० लाखको लागतमा गत वर्ष खेत कटान गरेको ठाउँमा तटबन्ध गर्न लागिएको कुँवरले जानकारी दिए ।
गत वर्ष अछाममा बाढीका कारण ठूलो धनजनको क्षति भएको थियो । भदौ २ गते कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिकाका १७ जनालाई बेपत्ता बनाएको थियो । ८ जना शव फेला परेको थियो भने ९ जना अझै बेपत्ता छन् । बाढीले रामारोशनको सैनीबजारको नामोनिशान नै मेटाएको थियो । बाढीले २५ घर पसल बगाएको थियो ।
सडक अवरुद्ध
निरन्तर बर्सातका कारण साँफे–मार्तडी, मार्तडी–कोल्टी लगायत जिल्लाका ग्रामीण क्षेत्रका दर्जनौं सडक अवरुद्ध भएका छन् । आइतबार देखिको लगातार वर्षाका कारण जिल्लाका दर्जनौं ठाउँमा बाढी पहिरो गएपछि लामो तथा छोटो दूरीका यातायात पूर्ण रूपमा बन्द भएका छन् । बाढी पहिरोका कारण सदरमुकाम मार्तडीको सडक सञ्जाल टुटेको छ । साँफे मार्तडी सडकखण्ड अन्तर्गत मौरे, बल्दे, अम्कोट, तिपाडा, ओलेना, नुनेपानी, लगायतका ठाउँ–ठाउँमा माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
बडीमालिका नगरपालिकाका नगरप्रमुख भन्छन्, ‘साँफे–मार्तडी सडकखण्ड अन्तर्गत पर्ने बुढीगंगा नगरपालिका–१ अम्कोटमा वर्षायाममा सधैं पहिरो आउने गरेको छ । उक्त सडक खण्डको वैकल्पिक व्यवस्थापनका लागि तत्काल दिगो उपाय अरू केही नभएकाले पहिरो पन्छाउनका लागि स्काभेटर तयारी अवस्थामा राखिएको छ । स्काभेटर भए पनि वर्षा नरोकिएकाले बाटो खुलाउन नसकिएको हो ।’
छैन पूर्व तयारी
सुदूरपश्चिम प्रदेशमा विपद् पूर्व तयारीको काम शून्य भएको पाइएको छ । प्रदेशका ९ वटै जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, प्रदेश सरकार तथा स्थानीय तहहरूले विपद् पूर्व तयारीमा चासो दिएका छैनन् ।
प्रदेशमा प्रकोप जोखिम क्षेत्रको पहिचान समेत गरिएको छैन । जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्थानीय र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको जानकारी दिए ।
बझाङका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष मोहन अधिकारीले स्थानीय तहहरूलाई विपद जोखिम क्षेत्रको पहिचानका लागि आग्रह गरिएको बताए । ‘जेठ ३० गते विपद्को बैठक बसेर ११ वटा निर्णय गरेका छौँ ।
निराकरणका लागि बजेट विनियोजन गर्ने, स्वंयसेवक तयारी गर्न समेत भनेका छौँ’, उनले भने । स्थानीय तहहरूले विपद् सम्भावित क्षेत्रको पहिचान अझै गर्न नसकेको जानकारी दिए । जिल्लामा पहिरो तथा सडक अवरुद्धको जोखिम सबैभन्दा बढी रहेको उनको भनाइ छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार साफेँ मार्तडी सडकको पहिरो क्षेत्रमा दुवैतिरबाट डोजर राख्न सडक डिभिजनलाई निर्देशन दिएको बताए । जेठ ३१ गते बाजुरा तथा स्थानीय विपद व्यवस्थापन समितिको बैठक बसेको थियो । अधिकारी भन्छन्, ‘सुरक्षा निकायलाई अलर्टमा बस्न भनेका छौँ । स्थानीय तहहरूलाई विपद्बाट बचाउनका लागि पहिरोको सम्भावित प्रभावित क्षेत्रको पहिचान गर्न लगाएका छौँ ।’
जिल्ला तथा स्थानीय विपद् समितिले प्रभावकारी विपद् प्रतिरक्षाको तयारी नगरेका बेला प्रदेश सरकारको तयारी समेत देखिएको छैन । तर प्रदेशकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले विपद् पूर्व तयारीका लागि काम थालेको दावी गरेकी छन् ।
‘जिल्ला प्रशासन कार्यालयहरूलाई तथ्यांक माग गर्ने छौँ । प्रदेशका कुन क्षेत्रमा कस्तो विपद्को जोखिम छ, त्यो बारेमा छलफल गर्ने तयारीमा छौँ’ उनले भनिन्, ‘पहिला जिल्ला विपद् व्यवस्थापन समितिसँग बैठक गर्छाैँ । पछि स्थानीय तहसँग समेत बैठक गर्नेछौँ । प्रदेश सरकारबाट बजेट पनि पठाउछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया