चीन र न्युजिल्यान्ड सहित ५ राष्ट्रले एसियन भलिबल च्याम्पियनशिप नखेल्ने

काठमाडौं । फिलिपिन्समा आयोजना हुन लागेको ‘एसियन सिनियर महिला भलिबल च्याम्पियनशिप’बाट ५ राष्ट्रले आफ्नो नाम फिर्ता लिएका छन्।

आगामी ‘अगस्ट २९’ देखि ‘सेप्टेम्बर ५’ तारीखसम्म फिलिपिन्समा आयोजना हुन लागेको एसियन सिनियर भलिबल प्रतियोगिताबाट चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्युजिल्यान्डले आफ्नो नाम फिर्ता लिएका हुन्।

कुल १७ वटा देशले सहभागिता जनाउने भनिएको प्रतियोगितामा माथि उल्लेखित राष्ट्रहरुले आफ्नो नाम फिर्ता लिंदा अब मात्र १२ टोलीले यस वर्षको एसियन सिनियर महिला भलिबल च्याम्पियनशिप खेल्ने भएका छन्। प्रतियोगितामा नेपाल सहित आयोजक राष्ट्र फिलिपिन्स, जापान, दक्षिण कोरिया, थाइल्यान्ड, ताईवान, काजकस्तान, अस्ट्रेलिया, ईरान, उज्बेकिस्तान, हङ्कङ र भारत सहभागी हुने भएका छन्।

सो प्रतियोगितको लागि नेपाली राष्ट्रिय महिला टोलीले आफ्नो बन्द प्रशिक्षण गत मंगलवारबाट शुरू गरिसकेको छ। गत चैत महिनामा सम्पन्न पाँचौं संस्करणको ‘आरबीबी एनभीए क्लब लिग प्रतियोगिता’मा उत्कृष्ट प्रदर्शन गर्ने ३० महिला खेलाडीलाई यस बन्द प्रशिक्षणमा बोलाइएको छ। टिम प्रशिक्षक ‘जगदिश भट्ट’ र ‘प्रज्वल बहादुर सिंह’को नेतृत्वमा मंगलवारबाट बन्द प्रशिक्षण शुरु हुने निश्चित भएको थियो। यस अघि ‘जेष्ठ २१’ गतेबाट शुरू हुने भनिएको बन्द प्रशिक्षण विभिन्न कारणवस पछाडि धकेलिएको थियो।

प्रशिक्षणमा विभागीय टोली ‘आर्मी’, ‘पुलिस’ र ‘एपीएफ’बाट क्रमशः आठ, सात र सात जना खेलाडी चुनिएका छन्। त्यस्तै ‘न्यू डायमण्ड क्लब’बाट पनि ७ जना खेलाडी प्रशिक्षणमा पर्दा ‘भरतपुर मेट्रो’बाट एक जना खेलाडी बन्द प्रशिक्षणमा पर्न सफल भएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?