काठमाडौं । भारतका कप्तान तथा स्टार ब्याट्सम्यान विराट कोहलीले न्युजिल्यान्डविरुद्धको ‘विश्व टेस्ट च्याम्पियनशिप’ फाइनलमा एउटा नयाँ कीर्तिमान रचेका छन्।
इङ्ल्यान्डको साउथह्याम्पटनस्थित ‘दि रोज बल’मा वर्षाले निकै नै प्रभावित फाइनल खेलमा पहिलो दिनको खेल हुन सकेन। दोस्रो दिन दुवै टोलीका कप्तान टसको लागि मैदान उत्रँदा विराटले नयाँ कीर्तिमान रचेका हुन्।
कोहली भारतका लागि टेस्ट क्रिकेटमा सबैभन्दा बढी कप्तानी गर्ने खेलाडी भएका छन्। विराटको यस न्युजिल्यान्डविरुद्धको फाइनल खेल भारतको लागि कप्तानको रूपमा ६१औं खेल रह्यो।
यसअघि ६० टेस्ट खेलमा भारतको कप्तानी गरेका महेन्द्र सिंह धोनीको रेकर्ड कोहलीले तोडेका हुन्। यसै गरी दोस्रो दिनको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतको पारी पनि कप्तान कोहलीले सम्हाली रहेका छन्।
६३ रनको सामान्य योगफलमा दुवै ओपनरलाई गुमाएको भारतको पारी कप्तान कोहली र उप-कप्तान रहानेले सम्हाली रहेका छन्। ८८ रनमा ३ विकेट गुमाएको भारतका लागि कप्तान विराट कोहलीले अविजित ४४ रन बनाएका छन् भने रहानेले अविजित २९ रनको पारी खेल्दा भारतले १४६ रन जोड्न सफल भएको छ।
वर्षाकै कारण दोस्रो दिनको खेल पनि रोकिन पुग्दा भारतको स्कोर ३ विकेटको क्षतिमा १४६ रन पुगेको छ। न्युजिल्यान्डका लागि निल वाग्नर, ट्रेन्ट बोल्ट र काइल जेमिसनले समान ११ विकेट लिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया