काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाविरुद्ध अरबौँ भ्रष्ट्राचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
ढुङ्गानाविरुद्ध १ अर्ब ३८ करोड रुपैयाँ भ्रष्ट्रचार गरेको भन्दै उजुरी परेको हो ।
बोर्डले असार १ गते शेयर बजारमा चलखेल गरेको भन्दै विभिन्न ५१ वटा कम्पनीहरुको नामावली सार्वजनिक गरेको थियो । उक्त जोखिमयुक्त कम्पनीमार्फत् शेयर बजारका ठूला खेलाडीहरुबाट ३५ करोड, बैंकका गभिनी संस्थालाई ब्रोकर लाइसेन्स रोक्न ५० वटा ब्रोकरबाट २ करोडका दरले १ अर्ब र लागयत अन्य केहि कम्पनीहरुका अध्यक्षहरुसँग ३ करोड घुस लिएको आरोप रहेको छ ।
बोर्डका अध्यक्ष ढुंगानाले देखिने गरी नै १ अर्ब ३८ करोड भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी गरेको हो । उजुरी नम्बर सी(०३५०७४र२०७८–३–२ रहेको छ । आयोगमा परेको उजुरीमा बोर्डका अध्यक्ष ढुंगानाले अध्यक्ष पदको दुरुपयोग गरी करोडौं रुपैयाँ भ्रष्टाचार गरेको स्पष्ट आधारहरु देखिएको भन्दै छानविन गर्न निवेदनमा आग्रह गरिएको छ ।
आयोग समक्ष पेश भएको निवेदनमा नेपाल धितोपत्र बोर्डले असार १ गते सोमबार जोखिमयुक्त कम्पनी भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेको र अनुसन्धानका नाममा लगानीकर्ता तर्साएर ठुला खेलाडीहरुलाई पोस्ने बदनियतका साथ ढुंगानाले ठुला खेलाडीबाट ३५ करोड रुपैयाँ
उठाएको दाबी गरिएको छ । उक्त रकम अध्यक्ष ढुंगानाले आफ्ना ससुराली खलकका आफन्तका नाममा र केही रकम साथीभाइका नाममा सेयर नै उठाएर कालोधनलाई सेतो बनाउने प्रयास गरेको दाबी गरिएको छ । उक्त विज्ञप्ति निकाल्नका लागि अध्यक्ष ढुंगानाले जेठ ३ गते नै विभिन्न सेयर खेलाडीहरुबाट रकम असुल गरेको दाबी निवेदनमा उल्लेख छ । जेठ ३ गतेबाट असार १ गतेसम्म उहाँका आफन्त तथा साथी भाइले किनेको सेयर विवरण हेर्ने हो भने उहाँले गरेको भ्रष्टाचार स्पष्ट रुपमा देखिने आयोगमा परेको उजुरीमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया