गाउँपालिकामा प्रधानाध्यापक कार्यालय सहयोगी !

सल्यान, ९ चैत – करीव आठ वर्ष विद्यालयमा प्रधानाध्यापक भएर काम गर्नुभएका हेमन्तबहादुर थापा अहिले गाउँपालिकामा कार्यालय सहयोगी हुनुभएको छ ।विद्यालयमा पढाउदा तलब नै नपाएपछि दार्मा गाउँपालिका–४ भल्चौरका उहाँ दार्मा गाउँपालिकामा कार्यालय सहयोगी हुनुभएको हो । दार्मा–४ मा रहेको वाल कल्याण प्राथमिक विद्यालयमा २०६६ सालदेखि निजी स्रोतमा पढाइरहनुभएका थापाले दुइ वर्षदेखि तलब नपाएपछि गाउँपालिकामा कार्यालय सहयोगीमा काम गर्न थालेको बताउनुभयो ।विसं २०६६ मा रु एक हजार २०० तलब लिएर पढाउन शुरु गर्नुभएका उहाँ २०६९ सालमा प्रधानाध्यापक हुनुभएको थियो । “थोरै भए पनि तलब आउँछ भनेर काम गरेँ तर दुई वर्षदेखि त्यही तलब नपाएपछि बाध्य भएर विद्यालय छोडे ।” थापाले भन्नुभयो ।प्रधानाध्यापक नै गाउँपालिकामा गएपछि विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ । एकतीस विद्यार्थी रहेको विद्यालयमा अब एकजना बालविकास सहयोगी कार्यकर्ताको भरमा मात्रै सञ्चालन भइरहेको छ । स्थायी दरबन्दी नरहको उक्त विद्यालयमा स्थानीयले दिने चन्दाको भरमा विद्यालय चल्दै आएको बालविकास सहयोगी कार्यकर्ता निरा बुढाथोकीले जानकारी दिनुभयो ।“पहिले दुई जना शिक्षक थियौँ प्रधानाध्यापक नै विद्यालय छोडेर जानु भयो अब मलाई समस्या भएको छ ।” सहयोगी कार्यकर्ता बुढाथोकीले भन्नुभयो, “जिल्ला शिक्षा कार्यालयले पहिले पिसिएफको पैसा पनि दिन्थ्यो यो वर्ष दिएको छैन न त स्थानीयले चन्दा नै उठाउँछन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?