जर्सी छनोटका लागि पूर्व कप्तान विनोद दास सहित चार सदस्सीय टोलीको समिति गठन

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी छनोटका लागि समिति गठन गरेको छ।

उक्त समितिमा नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास सहित चार अन्य सदस्य रहेका छन्। क्यानले सोमवार गठन गरेको समितिमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, जेनेरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन्। त्यस्तै चौथो सदस्यका रूपमा मुख्य प्रायोजक ‘माई सेकेन्ड टिचर’बाट एक प्रतिनिधि रहेका छन्। उनको नाम अहिलेसम्म खुलाइएको छैन।

क्यानले तयार गरेको समितिले मापदण्ड पुरा गरी आवेदन परेका जर्सी मध्येबाट उत्कृष्ट डिजाइन भएको जर्सी छनोट गर्नेछ। सो डिजाइन समितिले क्यानको बोर्डमा पेश गरे पश्चात् अन्तिम छनोट हुने जानकारी गराइएको छ।

पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय टोलीको जर्सी डिजाइन गरिएको क्यानले जनाएको छ। त्यस्तै राष्ट्रिय टोलीका मुख्य प्रायोजक ‘माई सेकेन्ड टिचर’ (एमएसटी)ले अघिल्लो साता खुल्ला गरेको यस प्रतिस्पर्धाबाट पाँच सय भन्दा बढी जर्सी डिजाइन प्राप्त भएको पनि क्यानले जानकारी दिएको छ। यस जर्सी डिजाइन प्रतिस्पर्धाको विजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने घोषणा ‘एमएसटी’ले यस अघि नै गरिसकेको छ।

नेपालले आगामी जुलाई महिनामामा स्पेनमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ शृंखलामा सो जर्सीको प्रयोग गर्नेछ। नेपालले सो प्रतियोगितामा नामिबिया र स्कटल्यान्डसँग एकदिवसीय सिरिज खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?