टेकसिँह धामी -धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डा. रण बहादुर रावलले सुदूरपश्चिम सरकारले ल्याएको बजेट खारेज हुन सक्ने बताएका छन्। असंवैधानिक बजेट ल्याईएको भन्दै बजेट पास नहुने बताएका हुन्।
प्रदेश सरकारले असार १ गते पेश गरेको बजेट माथिको छलफलको क्रममा बुधबार काँग्रेसले प्रदेश सभा बैठक नै अवरुद्ध पार्यो। बजेट विचौलियाको सेटिङमा आएको र अध्यादेशबाट आएकाले असंवैधानिक भएको बताउँदै बैठक अवरुद्ध पारिएको कांग्रेसको तर्क थियो।
बजेटमाथि सत्ता पक्षकै सांसदहरुले चरम असहमति जनाई रहेका बेला, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदन अवरुद्ध पारेको हो। अध्यादेश सदनबाट पास नहुँदासम्म संसद चल्न नदिने कांग्रसको तर्क छ। नेपालको संविधान २०७२, सुदूरपश्चिम प्रदेश सभा नियमावलीमा पनि, अध्यादेश ल्याएपछिको पहिलो संसद बैठकमा उक्त अध्यादेश पेश गर्नुपर्ने प्रावधान छ।
संसदीय दलका नेता डाक्टर रावलले भने, ‘संविधानको धारा २०२ मा पनि अध्यादेश, सदन चलेको पहिलो बैठकमै ल्याएर पास गर्नुपर्ने प्रावधान छ। तर, त्यस्तो भएन। अध्यादेशका बारेमा कुनै जानकारी नै दिईएन्। जानकारी वेगर बजेटमाथिको छलफल सुरु गरियो। अहिले बजेट पास भएपनि त्योपछि खारेज हुनसक्छ। संविधान भन्दा माथि कोही पनि छैन।’
अहिले बजेट पास भएपनि भोली कसैले सर्वोच्चमा रिट निवेदन हालेमा यो बजेट खारेज हुन सक्ने उनले बताए। त्यसैले यो असंवैधानिक भएको जनाउदै पद्धति मिचेर बजेट पास भएपनि खारेज हुने उनको दावी छ।
बुधबार दिउँसो सुरु भएको प्रदेश सभाको बैठकको सुरुवातमै कांग्रेसका प्रदेश सांसदहरुले उभिएर विरोध जनाएका थिए। विरोधपछि सभामुख अर्जुनबहादुर थापाले आफ्ना भनाई राखेर संसद चल्न दिन अनुरोध गरे। तर, पनि प्रतिपक्षले आफ्ना भनाई राख्दै फेरि संसदमा उठेर विरोध जनाएको थियो।
सांसदहरुले प्रदेश सरकारले ल्याएको बजेट असंवैधानिक र अमर्यादित भएको समेत आरोप लगाए। कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द राज बोहराले सरकारले अध्यादेश मार्फत ल्याएको बजेट असंवैधानिक भएको बताए।
जेठ १५ गते नीति तथा कार्यक्रम ल्याई सक्नुपर्ने संवैधानिक व्यवस्था छ। तर प्रदेश सरकार त्यतिबेला सरकार विस्तार, ओली–नेपाल समुहबीचको किचलो र मुख्यमन्त्रीले विश्वासको मत लिने लगायतका कारणले समयमा नीति तथा कार्यक्रम ल्याउन सकेन। उसले, अध्यादेशमार्फत जेठ २७ गते निति तथा कार्यक्रम पेश गरेको थियो।
नेपाली कांग्रेस र राजपाले अध्यादेशमार्फत बजेट ल्याईएपनि त्यो अध्यादेश सदनमा पेश नभएको भन्दै विरोध गरेका छन्। कांग्रेसका प्रमुख सचेतक बोहराले भने, ‘सुदूरपश्चिम आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायीत्व ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश संसदमा पेश नै गरिएन। त्यसैले यो बजेट असंवैधानिक छ।’ सोमबार र मंगलबार दुई दिन बजेटको छलफलमा भाग लिएपछि मात्रै कांग्रेसले बुधबार प्रदेशसभा बैठक अवरुद्ध पारेको हो।
बजेट माथिको छलफमा सांसद भरत खडकाले बजेट माथि संवैधानिक प्रश्न रहेको कुरा उठाएका थिए। अध्यादेश पास नभईकन बजेटमाथि छलफल हुनै नसक्ने उनले बताएका थिए। त्यसपछि मात्रै कांग्रेसभित्र बजेटको वैधानिकताको कुराले चर्चा पाएको हो।
गतवर्ष पनि प्रतिपक्षले संसद सचिवालको गेटमै रातो किताब जलाएर बजेटको विरोध गरेको थियो। सत्ता पक्षले बजेटमा केही मिलाउने भनिएपछि उसले सदन चल्न दिएको थियो। त्यतिबेला विपक्षीलाई सत्ता पक्षसँग योजनामा सम्झौता गरेको आरोप पनि लागेको थियो।
आर्थिक वर्ष २०७८/७९ को बजेटमा भने सत्ता पक्षबाटै पनि ठुलो असहमति रहेको देखिन्छ। सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका भागमा परेका मन्त्रालयमा १६ प्रतिशत मात्रै बजेट विनियोजन गरिएको भन्दै सत्ता पक्षमै असन्तुष्टि छ।
प्रदेश सरकारमा उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालय र भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मात्र माओवादीसँग छन्। यी दुई मन्त्रालयमध्ये उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालयमा ७ प्रतिशत र भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ९ प्रतिशत मात्रै बजेट परेको छ।
आफ्नो नेतृत्व टिकाउन मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार विस्तारका बेला महत्वपुर्ण मन्त्रालय एमालेको नेपाल–खनाल समुहलाई दिएको भन्दै आलोचनासमेत भएको थियो। अहिले एमालेले बजेटमा पनि उसलाई उछिनेको छ। बजेट, मन्त्रीको जिल्ला, उनकै निर्वाचन क्षेत्रका कार्यकर्ता, चुनावमा खटिने र कमिशन दिनेहरुका ईच्छामा आएको भन्दै प्रतिपक्षले विरोध पनि गरेको छ।
नीजी कम्पनीहरुलाई ५-५ करोड अनुदान दिने गरि बजेट विनियोजन भएको, राष्ट्रिय गौरवका योजनालाई प्राथमिकता दिनुभन्दा आफ्ना नेताका घर जाने सडकमा करोडौं रकम विनियोजन गरेको, असारे विकासको नमुना पेस गरेको भन्दै बजेटको विरोध हुँदै आएको छ।
असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले ३० अर्ब ३३ करोडको बजेट प्रस्तुत गरेका थिए। उक्त बजेटमाथि सोमबार र मंगलबार छलफल भएपनि बुधबारबाट भने अवरुद्ध भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया