काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय ‘युईएफए’ले सन् २०२१/२२ सिजनबाट शुरू हुने गरी अवे गोलको नियम हटाएको छ।
सन् १९६५ मा शुरु गरिएको सो अवे गोलको नियम आउँदो सिजनबाट खारेज गरिने भएको छ। अवे गोल अन्तर्गत दुई लेगको खेलमा यदि दुई टोलीले समान गोल गरेको अवस्थामा अवे मैदानमा बढी गोल गर्ने टोली स्वत विजेता घोषित हुने चलन थियो।
यद्यपि टेक्निकल टोलीको तथ्याङ्क अनुसार पछिल्ला सिजनहरुमा अवे र होम गोलमा खासै अन्तर नभएको रिपोर्ट बुधवार सार्वजनिक भएको कारणले ‘युईएफए’ले यस नियमलाई नै खारेज गरेको छ। ‘युईएफए’लाई अवे गोलको नियम हटाउन क्लब समिति तथा महिला क्लब समितिले संयुक्त रूपमा सिफारिश गरेका थिए।
‘युईएफए’ले लगाएको नयाँ नियम अनुसार आउँदो २०२१/२२ सिजनबाट अवे गोल कुनै पनि च्याम्पियन्स लिग तथा युरोपा लिगको खेलमा लागू हुने छैन। त्यस्तै नयाँ युरोपियन कन्फरेन्स लिग र महिला च्याम्पियन्स लिगमा पनि अवे गोलको कुनै महत्व रहने छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया