काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफा वरियतामा एक स्थान सुधार गर्दै १००औं स्थानमा पर्न सफल भएको छ। विश्व फुटबल महासंघ ‘फिफा’ले शुक्रवार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाली टोली १०१औं स्थानबाट १००औं स्थानमा उक्लिन सफल भएको छ।
१३औं सागमा अन्तिम अन्तराष्ट्रिय फुटबल खेलको महिला टोलीले लगभग दुई वर्ष यता कुनै पनि प्रतियोगितामा सहभागिता जनाएको छैन। पोखरामा आयोजित १३औं साग अन्तर्गत महिला फुटबलतर्फ रजत पदक हासिल गरेको नेपाली महिला टोलीले फाइनलमा भारतसँग पराजय भोगेको थियो।
त्यस्तै शुक्रवार सार्वजनिक गरिएको वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमध्ये भारतीय महिला टोली सबैभन्दा माथि रहेको छ। भारतले ५७औं स्थान ओगट्दा बंगलादेश १३७, भुटान १६१, माल्दिभ्स १४४ र श्रीलंका १४३औं स्थानमा रहेका छन्।
फिफा वरियताको शीर्ष स्थानमा अमेरिकी राष्ट्रिय महिला टोली रहेको छ भने दोस्रो स्थानमा जर्मनी रहेको छ। त्यस्तै तेस्रो, चौथो र पाँचौं स्थानमा क्रमशः फ्रान्स, नेदरल्यान्ड्स र स्वीडेन रहेका छन्।
नेपाली महिला टोलीले आउँदो सेप्टेम्बरमा ‘एएफसी महिला एसियन कप २०२२’ को छनोट अन्तर्गत फिलिपिन्स र हङ्कङसँग प्रतिस्पर्धा गर्नेछ।
सन् २०२२ ‘जनवरी २०’ देखि ‘फेब्रुअरी ६’ सम्म भारतमा आयोजना हुने ‘एएफसी महिला एसियन कप’को छनोट खेल अन्तर्गत नेपालले घरेलु मैदानमा फिलिपिन्स र हङ्कङसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ। बिहीवार सार्वजनिक गरिएको समूह विभाजन अनुसार नेपाल दुई बलिया टोली फिलिपिन्स र हङ्कङसँग एउटै समूहमा परेको हो।
फिफा वरियतामा फिलिपिन्स ६८औं र हङ्कङ ७६औं स्थानमा रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया