बाढीजन्य विपत रोक्न काठमाडौं महानगरको तयारी के छ ?

काठमाडौं महानगरपालिकाले बाढीजन्य विपत रोकथामका लागि काम शुरु गरेको छ । महानगर भएर बग्ने नदीहरुमा बाढी आउँदा विगत बर्षहरुमा भएका घटनालाई हेरेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो ।

विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले विगतका वर्षहरुमा धोवीखोलाबाट अनामनगर क्षेत्र, बल्खु खोलाबाट बल्खु क्षेत्र, सामाखुशी नदीबाट सामाखुशी क्षेत्रमा बाढीजन्य समस्या आएको जानकारी दिए । उनले यी बाहेकका क्षेत्रमा पनि समस्या आउँन सक्ने भन्दै नदी आसपास क्षेत्रमा सावधानी अपनाउन आवश्यक रहेको बताए ।

श्रेष्ठकाअनुसार अहिले अनामनगर, सामाखुशीलगायत नदी क्षेत्रको सफाइ र पूर्वाधारका माग आएका छन् । ती क्षेत्रमा नदीको बहाव खुकुलो बनाएर निर्वाध जलप्रवाह कायम गराउने काम भएको छ । यसबाहेक बाढीजन्य प्रकोपको व्यवस्थापनका लागि एउटा लोडर, पानी तान्ने सक्सन गाडी र पम्पहरु, त्रिपाल, भ¥याङ्, डोरीलगायत सामाग्रीको व्यवस्था गरिएको छ ।

सम्भावित विपद व्यवस्थापन गर्न नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीसहित क्षेत्रगत साझेदारसँग समन्वयमा काम गर्ने तयारी भइरहेको छ । यस्तै दमकललाई तैनाथ गरिएको छ । विभागीय प्रमुख श्रेष्ठ भने, ‘काठमाडौँ महानगरका कुनै पनि ठाउँमा बाढी वा अन्य विपद भयो भने सम्बन्धित टेलिफोनसहित मेरो मोवाइल नं. ९८५१० २४३०५ मा सम्पर्क गर्नोस् ।’

भारी बर्षा भएको समयमा नदीमा पानीको वहाव बढ्ने र यसले जनधनको क्षति पु-याउन सक्ने भएकोले नदी किनारामा बसोबास गर्ने परिवारलाई सतर्क रहन र जोखिमको सम्भावना देखेमा तत्काल महानगरमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सराजुकुमार बैद्यकाअनुसार यो बर्ष जुन ११ (जेठ २८ गते) बाट मनसुन सुरु भएको छ । अन्य बर्षहरुको मनसुन सुरु हुँदा यति सक्रिय हुँदैनथ्यो । यस बर्ष शुरुवातबाट नै सक्रिय छ ।

वैद्यकाअनुसार आज न्युनचापीय रेखा नेपालको सिमानामा भएकोले बागमती प्रदेशसहित, प्रदेश नं. १, २, गण्डकी र लुम्विनी प्रदेशमा बर्षा भइरहेको छ । क्षेत्रमा भारी बर्षासहित चट््याङ् पर्ने सम्भावना छ । यो भोलिसम्म रहन्छ । त्यसपछि पश्चिमतर्फ सर्दै जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?