जर्ज फ्लोयडको हत्या गर्ने प्रहरीलाई साढे २२ वर्ष जेल

गत वर्ष अमेरिकाको मिनियापोलिस सडकमा जर्ज फ्लोयडको हत्या गर्ने पूर्वप्रहरी अधिकारी डेरेक चौविनलाई साढे २२ वर्षको सजाय सुनाइएको छ ।

शुक्रवार मिनेसोटाको कानुनअनुसार उनलाई अदालतले सो सजायको फैसला गरेको सीएनएनले जनाएको छ । उनलाई १५ वर्ष जेलमा बस्नुपर्ने छ । बाँकी रहेको ७ वर्ष उनी रेखदेखका लागि योग्य हुनेछन् ।

२२ पृष्ठ लामो फैसलामा न्यायाधीशले चौविनले विश्वास र अख्तियारको दुरुपयोग गरेका कारण कठोर सजायको भागिदार हुनुपरेको जिकिर गरेका छन्। अश्वेत नागरिक फ्लोयड मारिएपछि त्यसमा संलग्न प्रहरी अधिकारीविरुद्ध दोस्रो तहको हत्या, तेस्रो तहको हत्या तथा दोस्रो तहको नरसंहारको आरोप लगाउँदै ३० वर्षको जेल सजाय माग गरिएको थियो ।

फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदै न्यायाधीश पिटर चाहिलले सजाय कोही कसैको भावना, बहकाउ तथा आम मानिसको विचारमा नलागी निष्पक्ष र मिनेसोटाको कानुनअनुसार गरिएको बताए ।

४६ वर्षीय फ्लोयडलाई गत वर्ष मे २५ मा घुँडाले घाँटी थिचेर मारेको भिडियो सार्वजनिक भएको थियो । त्यस लगत्तै प्रहरी ज्यादतिविरुद्ध विश्वभर प्रदर्शन भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?