श्रीलंकाविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’

काठमाडौं । इङ्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाको टोलीले भाइटालिटी टी-ट्वेन्टी शृंखलामा ३-० को पराजय भोगेको छ।

तीन टी-ट्वेन्टी खेलको शृंखलामा पाहुना टोलीले एक खेल पनि जित्न नसक्दा इङ्ल्यान्डले सिरिज ‘क्लिप स्विप’ गरेको हो। गए राति सम्पन्न तेस्रो टी-ट्वेन्टी खेलमा इङ्ल्यान्डले श्रीलंकाविरुद्ध ८९ रनको फराकिलो अन्तरले जित दर्ता गर्न सफल भयो।

साउथह्याम्पटनको ‘दि रोज बल’मा सम्पन्न तेस्रो टी-ट्वेन्टी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनको शानदार योगफल तयार गरेको थियो। इङ्ल्यान्डका लागि ओपनरद्वय जोनी बेरस्टो र डेभिड मलनले १०५ रनको साझेदारी निभाए।

बेरस्टोले ५१ रनको पारी खेल्दा मलनले ७६ रनको सर्वाधिक योगदान दिए। जवाफी ब्याटिङमा १८१ रनको लक्ष्य बोकेर मैदान प्रवेश गरेको श्रीलंकाले सबै विकेट गुमाएर मात्र ९१ रन बनाउन सक्यो।

पाहुना टोलीलाई सस्तोमै समेट्न डेभिड विलेले सर्वाधिक तीन विकेट लिए भने स्याम करनले दुई विकेट बटुले। श्रीलंकाका लागि विनुरा फर्नान्डोले सर्वाधिक २० रन बनाउन सफल भए।

यस अघिका दुई टी-ट्वेन्टी खेल इङ्ल्यान्डले क्रमशः ८ विकेट र ५ विकेटले आफ्नो पक्षमा पार्न सफल भएको थियो। इङ्ल्यान्डका अल राउन्डर स्याम करन ‘म्यान अफ दि सिरिज’ घोषित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?