काठमाडौं, २२ असोज- नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले पदबाट दिएको राजीनामा गृह प्रशासनले आफूप्रति पूर्वाग्रह राखेर स्वीकृत नगरेको आरोप लगाएका छन् ।तर, गृहसचिव लोकदर्शन रेग्मीले भने प्रहरी प्रधान कार्यालयबाट गृहमा आइनपुगेकाले राजीनामा प्रक्रिया अघि बढ्न नसकेको दाबी गरेका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।रेग्मीले भने, ‘आउनेबित्तिकै राजीनामा स्वीकृत हुन्छ ।’ राजीनामा स्वीकृत नभई एमाले प्रवेश गरेका डीआईजी सिलवालमाथि प्रहरी संगठनको आचरणविरुद्धको दण्डनीय गतिविधि गरिरहेको आरोप लागिरहेका बेला आफूलाई दुःख दिने नियतले राजीनामा रोकिएको अन्नपूर्णलाई प्रतिक्रिया दिए ।सिलवालले आईजीपी प्रकरणमा सर्वोच्चको फैसलापछि प्रहरी सेवाबाट अलग रहने घोषणा गर्दै डीआईजी पदबाट २८ भदौमा राजीनामा दिएका थिए । प्रहरी प्रधान कार्यालयले उक्त पत्र सनाखत गरी असोज १ गते स्वीकृतिका लागि पत्र संख्या २-०१-६.१ ।(०७४/०७५), चलानी नम्बर ९०९ उल्लेख गरी कागजात गृह मन्त्रालय प्रहरी प्रशासन शाखालाई सम्बोधन गरी पठाएको थियो ।मन्त्रालयको दर्ता शाखामा सिलवालको राजीनामा पत्रसम्बन्धी फाइल दर्ता किताबको ७७१ मा दर्ता भएको देखिन्छ ।मन्त्रालयमा फाइल दर्ता भए पनि उक्त फाइल आफूकहाँ नआएको गृहसचिव रेग्मीको दाबी छ । ‘सिलवालको राजीनामासम्बन्धी फाइल मकहाँ आएको भन्ने कुरा सरासर गलत हो, फाइल आएको भए रोक्ने कुरै छैन, कसैको राजीनामा स्वीकृत नगरेर त्यसै राख्ने कुरा हुँदैन ’, रेग्मीले भने ।स्रोतका अनुसार गृहसचिव रेग्मीले प्रक्रिया नपुगेको भन्दै फाइल कर्मचारी प्रशासन शाखाबाट प्रहरी प्रधान कार्यालयमा फिर्ता गर्न लगाएका थिए । फाइल फिर्ता गरिएको सम्बन्धमा गृहसचिव रेग्मीसँग जिज्ञासा राख्दा उनले अस्वीकार गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया