युरो कप खेल ४० : डिफेन्डिङ च्याम्पियन पोर्चुगल युरो कप बाहिर, रोनाल्डोको कीर्तिमानी चाहना अधुरै

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत आइतवार राती भएको दोस्रो खेलमा बेल्जियमले डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई १-० गोलले पराजित गरेको छ।

स्पेनको सेभिलस्थित ‘ओलाम्पिको इस्टाडियो’मा भएको खेलमा बलियो टोली बेल्जियमले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई हराउँदै उसको युरो कप २०२० को यात्रामा पूर्णविराम लगाएको छ।

पहिलो हाफको ४२औं मिनेटमा बेल्जियमले उत्कृष्ट गोल गर्दै खेलमा अग्रता लिएको थियो। दाजु-भाइ हजार्ड दुवै सम्मिलित बेल्जियमको टोलीमा भाइ थोर्गन हजार्डले शानदार गोल गर्दा बेल्जियमले खेलमा अग्रता लिएको थियो।

दोस्रो हाफको ४८औं मिनेटमा बेल्जियमका स्टार प्लेमेकर केभिन डे ब्राइना चोटका कारण मैदान बाहिरिए। उनको अनुपस्थितिमा केही कमजोर देखिएको बेल्जियमको टोलीले पोर्चुगललाई कुनै गोल भने गर्न दिएन। खेलमा हजार्डकै गोल निर्णायक बन्दा पोर्चुगलको युरो कप २०२० यात्रा अन्त्य भएको हो।

आफ्नो ११०औं अन्तराष्ट्रिय गोलको किर्तिमान रच्ने दाउमा मैदान प्रवेश गरेका पोर्चुगलका कप्तान रोनाल्डोको चाहना पनि अधुरै रहेको छ। निर्धारित ९० मिनेटसम्म कुल २३ शट प्रहार गरेको पोर्चुगलको टोलीले गोल भने गर्न सकेन।

पोर्चुगलले प्रहार गरेको २३ शटमध्ये ४ शटले गोलको दिशा लिएको थियो तर बेल्जियमका गोलरक्षक थिबाउ कोर्ट्वाले रोनाल्डो लगायत अन्य पोर्चुगिज खेलाडीलाई कुनै पनि गोल गर्ने अवसर दिएनन्।

यस जितसँगै बेल्जियमले क्वार्टर फाइनलमा अर्को दावेदार टोली इटालीसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?