काठमाडौं । वेस्ट इन्डिजको भ्रमणमा रहेको दक्षिण अफ्रिकी टोलीले दोस्रो टी-ट्वेन्टी खेलमा वेस्ट इन्डिज माथि १६ रनको जित दर्ता गरेको छ।
आइतवार राति सम्पन्न पाँच खेल शृंखलाको दोस्रो टी-ट्वेन्टी खेलमा वेस्ट इन्डिजले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। पहिलो ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकी टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाउन सफल भयो।
दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले सर्वाधिक ४६ रनको योगदान दिँदा ओपनर रिजा हेन्ड्रीक्सले ४२ रन बनाए। त्यस्तै वेस्ट इन्डिजका लागि ओबेड माकोयले सर्वाधिक ३ विकेट लिन सफल हुँदा केभिन सिंक्लेरले २ विकेट लिए।
जवाफी ब्याटिङमा १६७ रनको लक्ष्य पछ्याउँदै क्रिजमा उत्रेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १५० रन बनाउन सफल भयो। वेस्ट इन्डिजलाई सस्तोमै समेट्न दक्षिण अफ्रीकी बलर कागिसो रबाडाले सर्वाधिक ३ विकेट लिए भने जर्ज लिन्डेले २ विकेट बटुले।
आफ्नो व्यक्तिगत ४ ओभरमा मात्र १९ रन खर्चेर २ विकेट लिन सफल भएका लिन्डे खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया