ए-डिभिजन लिग असोज ३ गतेबाट सुरू हुने

काठमाडौं । सहिद स्मारक ए-डिभिजन लिग असोज ३ गतेबाट सुरू हुने पक्का भएको छ।

अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले सोमवार ए-डिभिजन लिगको सुरूवाती मिति सार्वजनिक गरेको हो। एन्फा र ए-डिभिजन लिग क्लबका प्रतिनिधिहरूबिच बसेको बैठकले लिगको सुरूवाती मिति सार्वजनिक गरेको हो।

कोरोना महामारीका कारण गत वर्ष ए-डिभिजन लिग फुटबल हुन पाएन। तर यस वर्ष कोरोना महामारी तथा निषेधाज्ञाको बावजूद नेपालको पहिलो फ्रेनचाइज लिग फुटबल नेपाल सुपर लिग ‘एनएसएल’ आयोजना भयो। पहिलो संस्करणको ‘एनएसएल ‘सफलतापूर्वक सम्पन्न भएसँगै एन्फा र ए-डिभिजन लिग क्लबहरुलाई सहिद स्मारक ए-डिभिजन लिग फुटबल सञ्चालन गर्न केही दवाव परेको थियो।

सोही विषयमा सोमवार बसेको बैठकले नेपालको प्रमुख घरेलु लिग फुटबलको सुरूवाती मिति तय गरेको हो। असोज ३ गतेबाट सुरू हुने लिगको समापन मिति भने तोकिएको छैन।

पछिल्लो पटक आयोजना भएको सन् २०१९/२० ए-डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?