काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत मंगलवार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४-१ गोलले पराजित गरेको छ।
ब्राजिलको माटो ग्रोसोस्थित ‘एरेना पान्टानाल’मा भएको दक्षिणी समूहको खेलमा अर्जेन्टिनाले शुरुवाती ६ मिनेटमै अग्रता लिएको थियो। कप्तान लियोनल मेस्सीको पासमा मिडफिल्डर एलेजेन्द्रो गोमेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
पहिलो हाफको ३३औं मिनेटमा कप्तान मेस्सीले अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। उनले पेनाल्टी मार्फत गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाएका हुन्। त्यस्तै पहिलो हाफको ४२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे। यस पटक उनले स्ट्राइकर सर्जियो अग्वेरोको पासमा गोल गर्दै अर्जेन्टिनाको अग्रता तेब्बर बनाए।
दोस्रो हाफमा भने बोलिभियाले एक गोल फर्कायो। खेलको ६०औं मिनेटमा इरविन साभेड्राले गोल गर्दा बोलिभियाले खेलमा फर्किने संकेत देखाएको थियो। तर त्यसको ५ मिनेट पनि नबित्दै अर्जेन्टिना तथा इन्टर मिलानका स्टार लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको गोल संख्या ४ पुर्याए।
खेलमा अरु कुनै गोल हुन नसक्दा अर्जेन्टिनाले ४-१ गोलको फराकिलो अन्तरले जित दर्ता गरेको हो। दक्षिणी समूहको शीर्ष स्थानमा रहँदै क्वार्टर फाइनलको यात्रा पक्का गरिसकेको अर्जेन्टिनाले अब अन्तिम आठमा इक्वेडरको सामना गर्नेछ। उता बोलिभियाको कोपा यात्रा भने यस खेल अघि नै अन्त्य भइसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया