कोपा अमेरिका २०२१ : काभानीको गोलमा उरुग्वे विजयी, क्वार्टर फाइनलमा कोलम्बियासँग भेट पक्का

काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत मंगलवार बिहान सम्पन्न अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १-० गोलले पराजित गरेको छ।

ब्राजिलको रियो डे जेनेरोमा सम्पन्न दक्षिणी समूहको अन्तिम खेलमा सर्वाधिक कोपा अमेरिका विजेता उरुग्वेले पाराग्वेलाई पराजित गरेको हो। उरुग्वेका लागि स्ट्राइकर एडिनसन काभानीले खेलको २१औं मिनेटमा गोल गरे।

इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी काभानीले पेनाल्टी गोल मार्फत उरुग्वेलाई अग्रता दिलाएका थिए। खेलको निर्धारित ९० मिनेटसम्म अरु कुनै गोल हुन नसक्दा उरुग्वेले महत्वपूर्ण जित दर्ता गरेको हो।

यस अघि दक्षिणी समूहको चौथो स्थानमा रहेको उरुग्वेले यस जित पश्चात् ४ खेलमा ७ अंक बटुल्दै दोस्रो स्थान ओगटेको छ। क्वार्टर फाइनल खेलमा अब उरुग्वेले कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ भने पाराग्वेलाई पेरुको चुनौती रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?