माओवादीले कारवाही गरेका दुई मेयरलाई काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । माओवादी केन्द्रले कारवाही गरेका जनप्रतिनिधिलाई कामकाज गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश कुमार चुडालको इजलासले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो। माओवादी केन्द्र परित्याग गरेर नेकपा (एमाले) प्रवेश गरेका उनीहरुलाई तत्कालका लागि काममा रोक नलगाउन अन्तरिम आदेश दिएको हो ।

निवेदनका सम्बन्धमा देखिएको विवादको गम्भीर कानुनी व्याख्या गर्नुपर्ने, निवेदकहरूले राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको तथा अर्को दल गठन गरेको यकिन अवस्था नदेखिएको अन्तरिम आदेशमा उल्लेख छ।

निर्वाचन आयोगले असार ९ गते साह र कुशवाहलगायत जनप्रतिनिधिलाई दल त्याग सम्बन्धी कानुन अनुसार पदमुक्त भएको निर्णय गरेको थियो । त्यसअघि माओवादीको वैशाख १३ गते बसेको केन्द्रीय समितिको बैठकको उनेहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?