नेदरल्यान्ड्सका प्रशिक्षक डे बोरद्वारा राजीनामा

काठमाडौं । युरो कप २०२० अन्तर्गत अन्तिम १६ चरणबाटै बाहिरिएको टोली नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक फ्रान्क डे बोरले राजीनामा दिएका छन्।

अन्तिम १६ अन्तर्गत आइतवार चेक गणतन्त्रसँग २-० गोलको पराजय भोगेको नेदरल्यान्ड्सलाई युरो २०२० को उपाधि दावेदार टोली मानिएको थियो।

समूह ‘सी’मा रहँदै प्रतियोगिताको शुरुवात गरेको डच टोलीले आफ्नो समूहमा भने शत प्रतिशत नतिजा निकाल्न सफल भएको थियो। नर्थ म्यासेडोनिया, युक्रेन तथा अस्ट्रिया सम्मिलित समूह ‘सी’मा नेदरल्यान्ड्सले सबै खेलमा जित निकाल्दै समूह विजेता बनेको थियो।

तर अन्तिम १६ चरणमा नै प्रतियोगिताबाट बाहिरिए पछि नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक डे बोरले पद त्यागेका हुन्। उनले आफूलाई दिइएको चुनौती पूरा गर्न नसकेको भन्दै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका हुन्।

५१ वर्षीय बोरले नेदरल्यान्ड्सले गर्ने प्रशिक्षक मूल्यांकन अघि नै आफ्नो पदबाट राजीनामा दिएका हुन्। उनले १५ खेलमा डच टोलीको प्रशिक्षण गरे।

नेदरल्यान्ड्सले आगामी सेप्टेम्बर महिनामा विश्वकप छनोट खेल अन्तर्गत नर्वे, मोन्टेनेग्रो र टर्कीको सामना गर्ने तालिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?