काठमाडौं । टोकियो ओलम्पिक २०२० मा एथलेटिक्स तर्फ सरस्वती चौधरीले नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्।
नेपाल ओलम्पिक समितिले बिहीवार एक विज्ञप्ति निकाल्दै सरस्वतीले नियमित कोटाबाट ओलम्पिक खेल्ने जानकारी दिएको हो। यस अघि १३औं सागमा स्वर्ण पदक जितेका गोपीचन्द्र पार्कीले म्याराथन विधामा टोकियो ओलम्पिक खेल्ने पक्का भएको थियो।
नियमित कोटाबाट नै म्याराथन विधामा नेपालको प्रतिनिधित्व गर्न टोकियो ओलम्पिक जाने पक्का भएको गोपीचन्द्रको स्थानमा अब महिला १०० मिटर दौडमा भाग लिन सरस्वती जापान प्रस्थान गर्ने छिन्। विश्व एथलेटिक्स प्राविधिक कमिटीले नेपाललाई म्याराथनमा नभई महिला १०० मिटरमा कोटा छुट्याएको कारणले अन्तिम समयमा खेलाडी परिवर्तन गर्नु परेको जानकारी नेपाल ओलम्पिक समितिले दिएको छ।
जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकमा अब नेपालका पाँच खेल खेलाडी सहभागी हुनेछन्। सरस्वती चौधरी सहित पौडीमा गौरीका सिंह र एलेक्स शाह, शुटिङमा कल्पना परियार र जुडोमा सोनिया भट्टले टोकियो ओलम्पिक खेल्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया