कप्तान पोलार्डको कप्तानी पारीमा वेस्ट इन्डिजको सहज जित

काठमाडौं । वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाले चौथो टी-ट्वेन्टी खेलमा २१ रनले पराजय भोगेको छ।

‘सेन्ट जर्ज’ मैदानमा बिहीवार भएको खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजको टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रनको योगफल तयार पार्न सफल भयो।

वेस्ट इन्डिजका लागि कप्तान केरन पोलार्डले अविजित ५१ रनको पारी खेले। उनले मात्र २५ बलमा २ चौका र ५ छक्का प्रहार गरेका थिए। त्यस्तै ओपनर लेन्डल सिमन्सले ४७ रनको योगदान दिए।

जवाफी ब्याटिङमा १६८ रनको लक्ष्य बोकेर क्रिजमा उत्रेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सफल भयो। दक्षिण अफ्रिकाका लागि ओपनर विकेट किपर क्विन्टन डे ककले सर्वाधिक ६० रन बनाउँदा बाँकि ब्याट्सम्यान सस्तोमै समेटिए।

वेस्ट इन्डिजका लागि भेट्रान अलराउन्डर ड्वेन व्राभोले व्यक्तिगत ४ ओभरमा मात्र १९ रन खर्चेर ४ विकेट लिए भने कप्तान पोलार्डले आफ्नो ४ ओभरमा २४ रन दिएर १ विकेट लिए।

आफ्नो अलराउन्ड प्रदर्शनीका लागि वेस्ट इन्डिजका कप्तान पोलार्ड खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए। यस जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृंखला २-२ को बराबरी अवस्थामा पुर्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?