कोपा अमेरिका २०२१ : जिससको रातो कार्ड बावजुद ब्राजिल सेमी फाइनलमा, चिले पराजित

काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत शनिवार बिहान भएको क्वार्टर फाइनल खेलमा साविक विजेता ब्राजिलले चिलेलाई १-० गोलले पराजित गरेको छ।

ब्राजिलको रियो डे जीनेरोस्थित ‘निल्टन सान्टोस’ स्टेडियममा भएको क्वार्टर फाइनल खेलमा दुवै टोलीले प्रतिस्पर्धात्मक खेल खेलेका थिए। तर शुरुवाती ४५ मिनेटमा दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

पहिलो हाफमा ब्राजिलका लागि शुरुवाती ११ मा पर्न सफल स्ट्राइकर रोबर्टो फर्मिनोको स्थानमा प्रशिक्षक टिटेले लुकास पाक्वेटालाई दोस्रो हाफको शुरुवातमा प्रतिस्थापन गरे। मैदानमा उत्रेको १ मिनेट पनि नबित्दै पाक्वेटाले ब्राजिललाई अग्रता दिलाए। खेलको ४६औं मिनेटमा ब्राजिलका स्टार नेयमारले दिएको ‘लफ्टेड पास’ चिलेका भेगासले क्लियर गर्न नसक्दा पाक्वेटाले सोही बललाई गोलमा परिणत गर्न सफल भएका हुन्।

त्यसपछि खेलको ४८ मिनेटमा ब्राजिलका स्ट्राइकर ग्याब्रियल जिससले रातो कार्ड पाए। उनले बल जित्ने क्रममा चिलेका डिफेन्डर मेनालाई मुखमा प्रहार गर्दा सोझो रातो कार्ड प्राप्त गरेका हुन्।

खेलमा दुवै टोलीले समान ५ शट टार्गेटमा प्रहार गरेका थिए। अझै चिलेले ५९ प्रतिशत बल आफ्नो कब्जामा राख्दा पनि निर्धारित ९० मिनेटसम्म कुनै गोल गर्न सकेन र कोपा अमेरिका २०२१ बाट बाहिरियो।

उता बलियो प्रतिद्वन्दी चिलेमाथि जित दर्ता गर्दै ब्राजिल कोपा अमेरिका २०२१ को सेमी फाइनलमा प्रवेश गरेको छ। सेमी फाइनलमा अब साविक विजेता ब्राजिलले गत संस्करणको उप-विजेता पेरुसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?