नेपाल पक्षलाई ओलीको प्रश्नै प्रश्न, “पार्टीमा आए ठीक छ, नत्र…”

काठमाडौँ- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ २ मा फर्किएपछि ‘बैठकमा किन सहभागी नभएको ?’ भन्दै नेता माधव कुमार नेपाललाई प्रश्न गरेका छन् ।

नेपाल पक्षकै मागअनुरुप आफूहरु जेठ २ मा फर्किएपनि नेपाल बैठकमा सहभागी नभएको भन्दै उनले शनिवारको केन्द्रीय समिति बैठकमा आक्रोश पोखेका हुन् । ओलीले नेपाललाई पार्टीमा आए अझैँ समय रहेको तर, बार्गेनिङ नगर्न भनेका छन् । उनले भने, ‘पार्टीमा आए ठीक छ । ओहोदाका लागि बार्गेनिङ गरे पर्दैन । काम पनि छैन । बार्गेनिङ गर्ने मान्छेले काम पनि गर्दैन ।’

पार्टीको विपक्षमा बोल्ने पार्टीको कार्यकर्ता र नेता पनि नहुने उनले बताए । उनले भने, ‘पार्टीको विरोधमा बोलेर नेता कार्यकर्ता भइन्छ ? पार्टीको विरोधमा बोलेर नेता, कार्यकर्ता हुन्छ ? नेता भनेको के ? नेतृत्व गर्ने होइन । पार्टीलाई वैचारिक र सांगठनिक ढंगले काम गरिरहेको छ भने नेता हो नत्र होइन ।’

यसैगरी अझैँ पनि सप्रिएर आए समय भएको तर, दश वर्षसम्म पर्खन नसक्ने पनि अध्यक्ष ओलीले बताए । ‘मान्छेले गल्ती गर्छ तर, सप्रिएर आउनुपर्छ । तर, कोहीकोहीलाई लामो बिरामी लाग्ला । निको हुन दश वर्ष लाग्ला के गर्नु ? त्यसकारण यो दश वर्ष पर्खाइको समय हुँदैन,’ उनले भने ।

पार्टीको विचार र संगठनको पक्षमा भए मात्रै नेपाल एमालेको नेता हुनसक्ने ओलीले बताए। भने, ‘पार्टीको वैचारिक र संगठनको नेतृत्व गरिरहेको छ भने नेता हो। छाडनु भो भने हट्छ।’

उनले अब एकता भनेर नेता नेपाललाई पर्खन नसक्ने समेत बताए। उनले एमाले ढाल्ने पक्षमा र विपक्षी नेतालाई प्रधानमन्त्री बनाउने अदालतमा मुद्दा गर्ने कोही पनि एमालेको कार्यकर्ता नभएको समेत बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?