काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत आइतवार बिहान भएको क्वार्टर फाइनल खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी शुटआउटमा ४-२ गोलले पराजित गरेको छ।
ब्राजिलको राजधानी ब्राजिलियामा भएको तेस्रो क्वार्टर फाइनल खेलमा दुवै टोलीले प्रतिस्पर्धात्मक खेल खेल्दा गोल भने गर्न सकेनन्। सर्वाधिक कोपा अमेरिका विजेता उरुग्वेले खेलमा ४९ प्रतिशत बल पोसेसन बनाउँदा कुल ७ शट प्रहार गरेको थियो। ती मध्ये ३ शट टार्गेटमा रहन सफल भएका थिए।
त्यस्तै कोलम्बियाले पनि ५१ प्रतिशत बल पोसेसन बनाउँदा कुल ९ शट प्रहार गरेको थियो जसमध्ये ३ शट टार्गेटमा रहन सफल भएका थिए। दुवै टोलीले नेक टू नेक प्रदर्शनी गर्दा पनि खेलमा गोलरहित बराबरी खेलेका थिए।
निर्धारित ९० मिनेटको समयसम्म पनि दुवै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टी शुटआउट तर्फ गएको थियो। सो पेनाल्टी शुटआउटमा कोलम्बियाले आफ्नो शुरुवाती ४ पेनाल्टी मार्फत गोल गर्न सफल भयो।
कोलम्बियाका लागि मिना, बोरजा, जापाटा र सान्चेजले गोल गरेका थिए। उता उरुग्वेले भने आफ्नो शुरुवाती ४ पेनाल्टीमा मात्र दुई गोल गर्न सफल भयो। स्ट्राइकरद्वय सुवारेज र काभानीले प्रहर गरेका पेनाल्टीले गोलको दिशा लिंदा जीमेनेज र भिनाको पेनाल्टी चुकेको थियो।
यस जितसँगै कोलम्बिया कोपा अमेरिका २०२१ को सेमी फाइनलमा प्रवेश गरेको छ भने उरुग्वेको कोपा २०२१ यात्रामा पूर्णविराम लागेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया