अन्तिम खेलमा दक्षिण अफ्रिकाले मार्यो बाजी, वेस्ट इन्डिज घरेलु मैदानमै उपाधि विहिन

काठमाडौं । वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाको टोलीले पाँच टी-ट्वेन्टी खेलको शृंखलामा ३-२ को जित दर्ता गरेको छ।

शनिवार राती ग्रेनाडाको ‘सेन्ट जर्ज’ मैदानमा भएको अन्तिम टी-ट्वेन्टी खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको थियो। उसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६८ रन बनाउन सफल भयो।

दक्षिण अफ्रिकाका लागि ब्याट्सम्यान आइडेन मारक्रमले सर्वाधिक ७० रनको योगदान दिए भने विकेट किपर क्विन्टन डे ककले ६० रन बनाए। वेस्ट इन्डिजका लागि भेट्रान बलर फिडेल एडवर्ड्सले सर्वाधिक २ विकेट बटुले।

जवाफी ब्याटिङमा १६९ रनको लक्ष्य बोकेर क्रिजमा उत्रेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा मात्र १४३ रन बनाउन सफल भयो। वेस्ट इन्डिजका लागि ओपनर एविन लुइसले सर्वाधिक ५२ रन जोड्दा शिम्रोन हेटमायरले ३३ रनको योगदान दिए। दक्षिण अफ्रिकाका लागि लुङ्गी एनगिडीले सर्वाधिक ३ विकेट लिए भने मुल्डर र रबाडाले समान २ विकेट लिन सफल भए।

यस जितसँगै दक्षिण अफ्रिकाले पाँच खेलको शृंखलामा ३-२ को जित निकाल्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?