अर्जेन्टिनाद्वारा कोलम्बिया पराजित, अन्तत: फाइनलमा नेयमार र मेस्सीको भेट पक्का

काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत बुधवार सम्पन्न दोस्रो सेमी फाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी ‘शुटआउट’मा ३-२ गोलले पराजित गरेको छ।

ब्राजिलको राजधानी ब्राजिलियास्थित ‘नेशनल स्टेडियम’मा भएको दोस्रो सेमी फाइनल खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी ‘शुटआउट’तर्फ गएको थियो।

निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले समान ५० प्रतिशत बल पोसेसन कायम गरेका थिए। त्यस्तै अर्जेन्टिनाले कुल १३ शट प्रहार गर्दा कोलम्बियाले जम्मा १४ शट प्रहार गरेको थियो। जसमध्ये दुवै टोलीले समान ४-४ शट टार्गेटमा राख्न सफल भएका थिए।

तर अग्रता भने अर्जेन्टिनाले पहिलो हाफको शुरुवाती १० मिनेट भित्रै लिइसकेको थियो। कप्तान लियोनल मेस्सीको पासमा स्ट्राइकर लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

पहिलो हाफ आफ्नो पक्षमा राख्न सफल भएको अर्जेन्टिनी टोलीले दोस्रो हाफमा भने गोल खान पुग्यो। खेलको ६२औं मिनेटमा एडविन कार्डोनाको पासमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई बराबरीमा लगेका थिए।

निर्धारित ९० मिनेटसम्म त्यसपछि दुवै टोलीले निर्णायक गोल गर्न नसक्दा खेल पेनाल्टी ‘शुटआउट’तर्फ गएको थियो। पेनाल्टीमा कोलम्बियाले आफ्नो पाँच पेनाल्टी मध्ये मात्र दुईमा गोल गर्न सक्यो। कोलम्बियाका लागि सान्चेज, मिना र कार्डोनाले आ-आफ्नो पेनाल्टी मिस गरे।

उता अर्जेन्टिनाले भने आफ्नो चार पेनाल्टीमा तीन गोल गर्दा फाइनलको यात्रा सुनिश्चित गरेको छ। कोपा अमेरिका २०२१ को फाइनल खेलमा अब मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना र नेयमार सम्मिलित ब्राजिल ‘जुलाई ११’ तारिखमा आमने सामने हुनेछन्।

कोलम्बिया र पेरूले भने ‘जुलाई १०’ मा तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने पक्का भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?