काठमाडौं । जारी विम्बेलडन २०२१ अन्तर्गत बुधवार पुरुषतर्फका सबै क्वार्टर फाइनल खेल समापन भएका छन्।
लन्डनस्थित ‘सेन्टर कोर्ट’मा खेलिएको दोस्रो क्वार्टर फाइनल खेलमा विम्बेलडनका राजा भनेर प्रख्यात रोजर फेडेररले पराजय भोगे। उनले विश्व नम्बर १४ पोलीश खेलाडी हुबर्ट हुर्काजसँग ३-६, ६-७(४/७) र ०-६ को सोझो सेटमा पराजय भोगेका हुन्।
खेलको दौरान मात्र ९ गेम जितेका फेडेररले तेस्रो सेटमा ‘बेगल’ बेहोर्दै प्रतियोगिताबाट बाहिरिए। उता अन्तिम १६ मा विश्व नम्बर २ ड्यानियल मेडभेडेभलाई पराजित गरेका हुर्काजले अन्तिम ८ मा फेडेररलाई पनि पराजित गर्दै सेमी फाइनलमा स्थान पक्का गरेका छन्।
त्यस्तै सेन्टर कोर्टमा खेलिएको पहिलो खेलमा विश्व नम्बर १ नोभाक जोकोभिचले हंगेरीका मार्टोन फुस्कोभिक्सलाई ६-३, ६-४ र ६-४ को सोझो सेटमा पराजित गरे। आफ्नो करियरको २०औं ‘ग्रान्ड स्ल्याम’ उपाधिका लागि खेलिरहेका जोकोभिचले खेलमा कुल १०८ अंक बटुलेका थिए।
क्वार्टर फाइनल अन्तर्गत नै ‘कोर्ट १’मा खेलिएका दुई खेलमा विश्व नम्बर ७ म्याटियो बेरेटिनी र डेनिस शापोभालोभ विजयी भएका छन्। इटालियन खेलाडी बेरेटिनीले क्यानाडाका फेलिक्स अगर आलियासिमेलाई ६-३, ५-७, ७-५ र ६-३ को सेटमा पराजित गरेका थिए।
उता पहिलो पटक विम्बेलडन सेमी फाइनल प्रवेश गरेका शापोभालोभले केरेन कान्छानोभलाई ६-४, ३-६, ५-७, ६-१ र ६-४ को सेटमा पराजित गरेका हुन्। तेस्रो सेटको अन्त्यसम्ममा दुई सेटले पछि परेका शापोभालोभले त्यसपछिका दुई सेटमा शानदार पुनरागमन गर्दै अन्तिम ४ मा स्थान बनाउन सफल भएका हुन्।
सेमी फाइनलको समीकरण
१) म्याटियो बेरेटिनीविरुद्ध हुबर्ट हुर्काज
२) नोभाक जोकोभिचविरुद्ध डेनिस शापोभालोभ
पुरुष तर्फका दुवै सेमी फाइनल खेल ‘जुलाई ९’ तारीख शुक्रवार खेलिने तालिका रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया