एभरेष्ट प्रिमियर लिगलाई आईसीसीको मान्यता

काठमाडौं । नेपालको घरेलु टी-ट्वेन्टी लिग एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’लाई अन्तराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ले मान्यता दिएको छ।

आगामी असोज ९ देखि असोज २३ गतेसम्म आयोजना हुने चौथो संस्करणको ‘ईपीएल’लाई ‘आईसीसी’ले मान्यता दिएको हो। आयोजक ‘ईपीएल’ क्रिकेटले बिहीवार एक विज्ञप्ति निकाल्दै चौथो संस्करणको प्रतियोगितालाई ‘आईसीसी’ले मान्यता दिएको जानकारी गराएको छ।

नेपालका छ शहरका फ्रेन्चाइज टिमले ईपीएलमा प्रतिस्पर्धा गर्दै आएका छन्। नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडीहरूसँगै ‘ईपीएल’ले नेपाली क्रिकेटमा नयाँ अनुहार र प्रतिभालाई पनि मौका दिँदै आएको छ।

गत चैत्र १ देखि चैत्र १५ गतेसम्म आयोजना हुने भनिएको चौथो संस्करणको ‘ईपीएल’ कोरोना महामारीका कारण पछाडि धकेलिएको थियो। त्यस बेला अन्तराष्ट्रिय क्रिकेट स्टारद्वय एबी डेविलियर्स र क्रिस गेल पनि ‘ईपीएल’मा आबद्ध हुने पक्का भइसकेको थियो।

चौथो संस्करणको ‘ईपीएल’मा साविक विजेता ललितपुर प्याट्रियट्ससँगै पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्लाडिएटर्स, विराटनगर वारियर्स र काठमाडौं किङ्स ११ ले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?