काठमाडौं । इङ्ल्यान्ड भ्रमणमा रहेको पाकिस्तानले दोस्रो एकदिवसीय खेलमा पनि पराजय भोग्दै तीन खेलको शृंखलामा २-० ले पछाडि परेको छ।
‘होम अफ क्रिकेट’ लर्ड्स मैदानमा शनिवार भएको खेलमा पाकिस्तानले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ४५.२ ओभरमा सबै विकेट गुमाएर २४७ रनको योगफल तयार गर्यो। इङ्ल्यान्डका लागि फिल सल्टले सर्वाधिक ६० रन बनाए भने जेम्स भिन्सले ५० रनको योगदान दिए। त्यस्तै लुइस ग्रेगरीले ४० रन बनाउन सफल भए। पाकिस्तानका लागि तिब्र गतिका बलर हसन अलीले ५ विकेट लिन सफल भए।
जवाफी ब्याटिङमा २४८ रनको लक्ष्य बोकेर क्रिजमा उत्रेको पाकिस्तानले ४१ ओभर खेल्दा १९५ रनमै समेटियो। पाकिस्तानका लागि साउद शकीलले सर्वाधिक ५६ रन बनाउँदा हसन अलीले ३१ रन बनाए। इङ्ल्यान्डका तिब्र गतिका बलर लुइस ग्रेगरीले ३ विकेट लिंदा खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए।
लगातार दोस्रो खेलमा पाकिस्तानी टोली सस्तोमै अलआउट हुँदा इङ्ल्यान्ड ५२ रनले विजयी भएको हो। यस जितसँगै इङ्ल्यान्डले तीन एकदिवसीय खेलको शृंखलामा २-० को अग्रता लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया