काठमाडौं । दक्षिण एसियाली खेलकुद ‘साग’को १४औं संस्करण सन् २०२३ को मार्च महिनामा आयोजना हुने पक्का भएको छ।
पाकिस्तानमा हुने भनिएको १४औं साग सन् २०२३ मार्चमा हुने पक्का भएको छ। दक्षिण एसियाली ओलम्पिक परिषदले भर्चुअल बैठक मार्फत १४औं सागको महिना तोकेको हो।
सन् २०१९ मा नेपालमा आयोजना गरिएको १३औं साग पश्चात् नेपालले सागको झण्डा पाकिस्तानलाई हस्तान्तरण गरेको थियो। २७ खेल समावेश हुने १४औं सागका लागि पाँच सहर आयोजक सहरका रूपमा छनोट गरिएको छ।
पाकिस्तानी राजधानी इस्लामावादसँगै लाहोर, सियालकोट, फैसलाबाद र गुनरनवाला आयोजक सहरमा रहेका छन्। पाकिस्तानले तेस्रो पटक साग आयोजना गर्न लागेको हो।
यसअघि सन् १९८९ र २००४ मा पनि पाकिस्तानले साग आयोजना गरेको थियो। प्रत्येक दुई-दुई वर्षमा आयोजना गर्ने भनिएपनि पटक पटक यस्तो हुन भने सकेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया