काठमाडौं । आज प्रधानमन्त्रीका रुपमा बाहिरिदैं गर्दा केपी शर्मा ओलीले भनेका थिए,‘आज साँझ देखि नै तमासा हुने छ ।’
ओलीको संकेत कतातिर थियो त्यो प्रष्ट छैन । तर उनले जे भनेका थिए, आखिर त्यही भइदियो ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा राष्ट्रपति विद्या देवी भण्डारीले सपथ खुवाउने कार्यक्रम आज साँझ ६ बजेका लागि तोकिएको थियो । तर देउवाले आफुलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयको पत्रमा भाषा नमिलेको भन्दै त्यसलाई सच्याउन आग्रह गरे । पत्र नसच्याएसम्म शपथ नलिने देउवाले अडान राखे । उनले आजै केही कानुविदहरुसँग सल्लाह लिएर पत्र नसच्चाएसम्म सपथ नलिने निर्णय लिएका थिए ।
दुई घण्टा लामो बहसपछि राष्ट्रपति कार्यालयले पत्र सच्चाएपछि प्रधानमन्त्रीका रुपमा देउवाले अन्य चार जनाले मन्त्री पदका लागि सपथ लिन पाए ।
नियुक्ती पत्रमा आफु संविधानको कुन धारा अनुसार प्रधानमन्त्री नियुक्त भएको हो त्यो धारा राखेर अर्को पत्र दिनुपर्ने देउवाको माग थियो ।
सर्वोच्च अदालतको सोमवारको परमादेश अनुसार संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनिएको छ ।
तर दुई घण्टासम्म पनि राष्ट्रपति भण्डारीले पत्र नसच्याउने अडान लिएपछि सपथ ग्रहणमा ढिलाई भएको हो ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच पहिलो दिन नै पत्र विवाद भएपछि आगामी दिनमा यी दुई शक्तिकेन्द्रबीचको सम्बन्ध खलबलिने संकेत देखिएको छ ।
विपक्षी गठबन्धनबाट राष्ट्रपतिमाथि महाअभियोग लगाउनुपर्ने टिप्पणी आइरहेको बेला आज भएको यो विवादले मलजल गर्ने देखिन्छ ।
राष्ट्रपतिको यो शैलीप्रति कांग्रेसले आपत्ति जनाइसकेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,‘अब थोरै सच्चिएरै सहकार्य गरौँ सम्माननीय राष्ट्रपतिज्यू ! पत्र सच्चिनेको कुरा मात्रै होइन प्रवृत्ति सच्चिने प्रधान कुरा हो । सर्वोच्च फैसलाले सरकार बदल्न मात्र होइन, यहाँ संरक्षकलाई बदलिन समेत आदेश दिएको विषयलाई विनम्रसँग आत्मसात गरौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया