काठमाडौं। वेस्ट इन्डिज भ्रमणमा रहेको अस्ट्रेलियाले आफ्नो पहिलो जित निकालेको छ। बिहीवार बिहान सम्पन्न चौथो टी-ट्वेन्टी खेलमा अस्ट्रेलिया ४ रनले विजयी भएको हो।
‘ग्रोस इसलेट’मा भएको खेलमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। यस सिरिजमा पहिलो पटक राम्रो ब्याटिङ प्रदर्शन गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रनको विशाल लक्ष्य तयार गरेको थियो। अस्ट्रेलियाका लागि मिचेल मार्शले सर्वाधिक ७५ रनको योगदान दिंदा कप्तान आरोन फिन्चले ५३ रन बनाएका थिए। त्यस्तै भेट्रान खेलाडी ड्यानियल क्रिस्टियनले २२ रन बनाउँदा अन्य ब्याट्सम्यान दोहोरो अंकमा समेत पुग्न असफल रहेका थिए।
जवाफी ब्याटिङमा १९० रनको लक्ष्य लिएर क्रिजमा उत्रेको वेस्ट इन्डिजले शानदार शुरुवात गरेको थियो ओपनर लेन्डल सिमन्सले सर्वाधिक ७२ रनको योगदान दिएका थिए। त्यसपछि केही अल्मलिएको वेस्ट इन्डिजको ब्याटिङलाई आन्द्रे रसल र फाबियन एलेनले सम्हालेका थिए।
यद्यपि ६ बलमा ११ रन बनाउन नसक्दा वेस्ट इन्डिज ४ रनले पराजीत हुन पुग्यो। अस्ट्रेलियाका तिब्र गतिका बलर मिचेल स्टार्कले खेलको अन्तिम ओभरमा शानदार बलिङ गरे। उनले शुरुवाती ५ बलमा एक रन पनि खर्चेनन्। आन्द्रे रसल जस्ता विस्फोटक ब्याट्सम्यान क्रिजमा रहँदा पनि उनले मात्र अन्तिम बलमा एक छक्का प्रहार गर्न सफल भएका थिए।
अष्ट्रेलियाका मिचेल मार्श खेलको ‘म्यान अफ दि म्याच’ चुनिए। यस जितसँगै ५ खेलको टी-ट्वेन्टी शृंखलामा अस्ट्रेलियाले पहिलो जित निकालेको छ। अन्तिम खेल खेल्नु अगाडि वेस्ट इन्डिजले शृंखलामा ३-१ को अग्रता लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया