फेडेररले ओलम्पिक नखेल्ने

काठमाडौं। टेनिस सुपरस्टार रोजर फेडेररले टोकियो ओलम्पिक २०२० मा सहभागिता नजनाउने भएका छन्।

३९ वर्षीय फेडेररले आफ्नो सामाजिक सञ्जालको माध्यमबाट सहभागिता नजनाउने निर्णय गरेका हुन्। उनले आफ्नो घुँडाको चोटका कारण ओलम्पिकमा सहभागिता नजनाउने जानकारी दिएका छन्।

“अ सेटब्याक विथ माई नी”, उनले पोस्ट गरेका थिए। सन् २०२० मा दायाँ घुँडामा दुई शल्यक्रिया गरेका फेडेररको सोही चोट बल्झिए पछि उनले ओलम्पिकमा सहभागिता नजनाउने भएका छन्।

“आफ्नो राष्ट्र स्विट्जरल्यान्डको नेतृत्व गर्न नपाउनु मेरो लागि दुःखद कुरा हो”, उनले भने। सन् २०१६ रियो ओलम्पिक पनि चोटका कारण गुमाएका फेडेरर ‘युएस ओपन’को लागि भने तयार हुने अपेक्षा गरिएको छ।

त्यस्तै अर्का टेनिस सुपरस्टार रफाएल नाडालले यस अघि नै ओलम्पिक नखेल्ने जानकारी दिइसकेका थिए। सन् १९९६ एटलान्टा ओलम्पिक पश्चात् फेडेरर र नाडाल सहभागी नहुने यो पहिलो ओलम्पिक खेल हुनेछ।

अर्का टेनिस सुपरस्टार नोभाक जोकोभिचले भने टोकियो ओलम्पिकमा सहभागिता ५०/५० प्रतिशत रहेको बताएका छन्। ओलम्पिकमा रहेको ‘बायो बबल’ र अन्य विभिन्न कारणले जोकोभिचको सहभागिता पक्का भएको छैन।

टेनिस जगतका २० ग्रान्ड स्ल्याम विजेता यी तीन सुपरस्टार खेलाडी मध्ये मात्र राफाएल नाडालले ‘गोल्डेन स्ल्याम’ उपाधि जितेका छन्। यस पटक ओलम्पिकमा स्वर्ण पदक जित्दै ‘गोल्डेन स्ल्याम’ जित्ने मौका जोकोभिचलाई भने अझै रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?