बाबर र रिजवानको विस्फोटक ब्याटिङमा पाकिस्तान विजयी

काठमाडौं। इङ्ल्यान्ड भ्रमणमा रहेको पाकिस्तान क्रिकेट टोलीले पहिलो टी-ट्वेन्टी खेलमा जित दर्ता गरेको छ।

नटिङ्घमस्थित ‘ट्रेन्ट ब्रिज’मा शुक्रवार राती खेलिएको पहिलो टी-ट्वेन्टी खेलमा पाकिस्तानले इङ्ल्यान्ड माथि ३२ रनको जित दर्ता गर्न सफल भयो। तीन एकदिवसीय खेलको शृंखलामा ‘क्लिन स्विप’ पराजय भोगेको पाकिस्तानले टी-ट्वेन्टी शृंखलाको शुरुवात भने सन्तोषजनक गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले विस्फोटक शुरुवात गर्यो। कप्तान बाबर आजम र उप कप्तान मोहम्मद रिजवानको शुरुवाती साझेदारीमा पाकिस्तानले १५० रन बनाउन सफल भयो। बाबरले सर्वाधिक ८५ रनको योगदान दिँदा रिजवानले ६३ रन बनाए। यी दुईको शानदार शुरुवातको मद्दतले पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २३२ रनको विशाल योगफल तयार पार्न सफल भएको थियो।

जवाफी ब्याटिङमा उत्रेको इंग्लिश टोलीको शुरुवात राम्रो हुन सकेन। ओपनरद्वय डाविड मलन र जेसन रोय सस्तोमै पविलियन फर्किँदा इङ्ल्यान्डको शुरुवात खराब रहन पुग्यो। यद्यपि लियाम लिभिङस्टोनले इङ्ल्यान्डको पारी सम्हाले। उनले ४३ बलमा १०३ रनको शानदार ब्याटिङ गर्दा इङ्ल्यान्डको ब्याटिङ केही सम्हालियो। तर उनीसँग साझेदारी बनाउन कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा इङ्ल्यान्डको पारी १९.२ ओभरमा २०१ रनमा समेटियो।

पाकिस्तानका तिब्र गतिका बलर शहिन शाह अफ्रिदीले महत्वपूर्ण ३ विकेट लिंदा उनी खेलको ‘म्यान अफ दि म्याच’ चुनिए। यस जितसँगै पाकिस्तानले तीन टी-ट्वेन्टी खेलको शृंखलामा १-० को अग्रता लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?